काठमाडौं, २ पुस । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ। मंगलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि देशभरको मौसम सामान्यता सफा रहने महाशाखाले जनाएको छ। तापक्रम पनि केही स्थिर रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए। मंगलबार काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस मापन भएको छ। सोमबार पनि ४.८ डिग्री नै मापन भएको थियो।
शनिबार काठमाडौंको न्यूनतम तापक्रम ह्वात्तै घटेर २ डिग्री सेल्सियस पुगेको थियो। देशका अन्य भू-भागहरूमा पनि तापक्रम घटेको थियो । आइतबारबाट न्यूनतम तापक्रम केही उकालो लाग्दा तुलनात्मक रूमा कम चिसो महशुस गरिएको थियो।
यद्यपि मौसम पूर्वानुमान महाशाखाले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
