काठमाडाैं,२२ फागुन । सुर्खेतमा मृत्यु भएका कालीकोटका युवक कृष्ण हमाल ‘मिनी’का बाबु हिराचन्द्रले सुब्बाकुना प्रहरी पोस्टका इन्चार्ज असई शेरसिंह धामीविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका छन् ।
कालीकोटको तिलागुफा नगरपालिका–३ का २५ वर्षीय हमालको प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै असइई धामीविरुद्ध उजुरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीले असईविरुद्ध किटानी जाहेरी परेको बताए ।
शुक्रबार साँझ सामान्य विवादमा प्रहरीको कुटाइ खाएका हमालको शनिबार विहान मृत्यु भएको थियो । हमालको मृत्यु प्रहरीको कुटाइबाट भएको भन्दै आफन्त र स्थानीय वासिन्दाले वीरेन्द्रनगरमा प्रर्दशन गर्दै आएका छन् ।
आइतबार दिउँसो सुर्खेत जिल्ला प्रशासन कार्यालयसँगको चार बुँदे सहमतिपछि मृतकका आफन्तले आन्दोलन स्थगित गरेका छन् । शनिबार बनाइएको छानबिन समितिमा एक जना चिकित्सकलाई सदस्यका रूपमा थप गर्ने, समितिको प्रतिवेदन बुझाउने म्याद सात दिन बनाउने, पीडकलाई कानुबमोजिम कारबाहीको व्यवस्था गर्ने, मृतकका परिवारलाई उचित राहतको लागि पहल गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।
