तुलसीपुर, २० असार । चलचित्र पत्रकार सङ्घ दाङ शाखाको आयोजनामा साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘गौंथली’ का निर्देशक, निर्माता तथा कलाकारहरूसँग साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ। चलचित्र पत्रकार सङ्घ दाङ शाखाकी अध्यक्ष निरला आर्यालकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
साक्षात्कार कार्यक्रममा बाेल्दै चलचित्र ‘गौंथली’ का निर्देशक तथा निर्माता डा. कपिल रिजालले चलचित्र नेपाली समाजको परम्परागत सामाजिक मूल्य–मान्यता र यथार्थमा आधारित रहेको बताउनुभयो। उहाँका अनुसार चलचित्रले ग्रामीण समाजमा सानै उमेरमा विवाह गरिने प्रचलन, अभिभावक वा परिवारका अग्रजले रोजिदिएको घरमा आफ्ना इच्छा, चाहना र आकांक्षालाई दबाएर विवाह गर्नुपर्ने बाध्यताजस्ता सामाजिक यथार्थलाई प्रस्तुत गरेको छ। परिवारको निर्णयलाई नै अन्तिम मान्दै आफ्ना सपनालाई त्यागेर पराइको घर जानुपर्ने परम्परागत सामाजिक अवस्थालाई चलचित्रमार्फत जीवन्त रूपमा चित्रण गरिएको उहाँले बताउनुभयो।
निर्देशक रिजालले ‘गौंथली’ केवल मनोरञ्जनका लागि मात्र नभई समाजमा विद्यमान परम्परा, संस्कार र तिनका प्रभावबारे दर्शकलाई सोच्न बाध्य बनाउने उद्देश्यका साथ निर्माण गरिएको उल्लेख गर्नुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ दाङ शाखाकी उपाध्यक्ष नारायणी रजौरेले चलचित्र ‘गौंथली’ को सम्पूर्ण टिमलाई दाङमा स्वागत गर्दै चलचित्रको सफलताको शुभकामना व्यक्त गर्नुभयो। उहाँले सामाजिक विषयवस्तुमा आधारित चलचित्रले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले आगामी दिनमा चलचित्र निर्माण तथा छायाङ्कनका क्रममा दाङका प्राकृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई पनि प्राथमिकता दिन आग्रह गर्दै यसबाट दाङको पर्यटन प्रवर्द्धन र स्थानीय पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा तुलसीपुरका अग्रज व्यक्तित्व बिमल रिजालले चलचित्र ‘गौंथली’ को सफलताको शुभकामना व्यक्त गर्नुभयो। उहाँले चलचित्रले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै यस्ता सामाजिक विषयवस्तुमा आधारित चलचित्रले समाजलाई सचेत र जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा चलचित्र ‘गौंथली’ का सह–निर्देशक घिरिराज घिमिरे, कलाकार शिवप्रसाद उप्रेती तथा मिडिया संयोजक सुरक्षा भट्टराईको समेत उपस्थिति रहेको थियो। उहाँहरूले चलचित्रका विविध पक्षबारे आफ्ना धारणा राख्दै ‘गौंथली’ ले सामाजिक यथार्थ र सकारात्मक सन्देशलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा उपस्थित पत्रकारहरूले चलचित्र ‘गौंथली’ को कथा, निर्माण प्रक्रिया, उद्देश्य, सामाजिक सन्देश तथा प्रदर्शनसँग सम्बन्धित विभिन्न विषयमा आफ्ना जिज्ञासा राखेका थिए। निर्देशक, निर्माता तथा कलाकारहरूले पत्रकारहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै चलचित्रका विविध पक्षबारे जानकारी गराएका थिए।
कार्यक्रममा चलचित्र पत्रकार सङ्घ दाङ शाखाका सल्लाहकार तथा रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण चलचित्रमा पत्रकार संघ दाङ शाखाका सचिव एकराज भण्डारीले गर्नुभएको थियो।
रुपा थापा
