• ट्रेण्डिङ्ग :
परदेशी नेपालीको पीडा बोकेको तीज गीत ‘परदेशीको पीडा’ सार्वजनिक हुँदै

परदेशी नेपालीको पीडा बोकेको तीज गीत ‘परदेशीको पीडा’ सार्वजनिक हुँदै


  • 7.8K
    SHARES
    • भाद्र १, २०८३ सोमबार
    • १ महिना अघि
    • 12.0K Views

    परदेशी नेपालीको पीडा बोकेको तीज गीत ‘परदेशीको पीडा’ सार्वजनिक हुँदै

    पोखरा, १ भदौ । नेपाली नारीहरूको प्रमुख पर्व हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा नयाँ–नयाँ तीज गीत सार्वजनिक हुने क्रम तीव्र बनेको छ। यही क्रममा विदेशमा रहेका नेपालीहरूको पीडा, संघर्ष र परिवारप्रतिको सम्झना र परदेशी जीवनको यथार्थ पीडा समेटिएको नयाँ नेपाली तीज गीत ‘परदेशीको पीडा’ सार्वजनिक हुने तयारीमा रहेको छ। 

    images

    लाखौं नेपाली युवा सुनौलो भविष्यको सपना बोकेर रोजगारी, अध्ययन तथा विभिन्न अवसरको खोजीमा विदेशिने गरेका छन्। तर विदेश पुगेपछि सोचेजस्तो जीवन नपाउँदा धेरैले कठिन संघर्ष, एक्लोपन, आर्थिक समस्या र परिवारबाट टाढिनु पर्दाको पीडा भोग्नुपर्ने यथार्थ छ। यही वास्तविकतालाई तीजको भावनासँग जोडेर ‘परदेशीको पीडा’ गीत तयार गरिएको छ।

    तीज भन्नासाथ माइतीघर, चेलीबेटी, भेटघाट, दर खाने परम्परा र उल्लासपूर्ण क्षणहरूको सम्झना आउने गर्छ। तर रोजगारी, अध्ययन तथा अन्य कारणले विदेशिएका नेपालीका लागि तीज परिवार, गाउँघर र मातृभूमिको सम्झनासँगै भावनात्मक पीडा बोकेर आउने पर्व पनि बन्ने गरेको छ। गीतले यही भावनात्मक पक्षलाई केन्द्रमा राखेको छ।
    त्यसैले ‘परदेशीको पीडा’ केवल मनोरञ्जनका लागि तयार गरिएको गीत नभई परदेशिएका नेपालीको वास्तविक जीवन र भावनासँग जोडिने अपेक्षा गरिएको छ।

    गीतमा लोकदोहोरी गायक रामजी पौडेल र लोकदोहोरी गायिका पार्वती जीसीको स्वर रहेको छ। रामजी पौडेलकै संगीत रहेको गीतमा वीरेन्द्र पौडेलको शब्द तथा तारानाथ आचार्यको संगीत संयोजन रहेको छ। गीतको रेकर्डिङ पोखरास्थित डिजिटल स्टार रेकर्डिङ स्टुडियोमा सम्पन्न गरिएको हो भने गीतको अडियो मिक्सिङ काठमाडौंस्थित मलाश्री स्टुडियोमा गरिएको छ।

    यस गीतको भिडियो निर्माणको कामसमेत तीव्र रूपमा अघि बढिरहेको छ। गीतको भिडियोको छायांकन तथा निर्माण कार्य भारतको मुम्बईमा भइरहेको छ भने भिडियोको निर्देशन डान्स निर्देशक हरिश विश्वकर्माले गरिरहेका छन्। गीतको भिडियोसमेत यसै साता सार्वजनिक गर्ने तयारी गरिएको निर्माण पक्षले जनाएको छ।

    ‘परदेशीको पीडा’ रामजी पौडेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ। गीतको पोस्टर सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ गीतप्रति चासो बढ्दै गएको छ। गीतको पोस्टरमा एकातर्फ तीजको रमझम र अर्कोतर्फ परदेशमा रहेका नेपालीको पीडा तथा घर फर्किन नसक्दाको भावनात्मक अवस्थालाई प्रस्तुत गरिएको छ।

    विशेषगरी विदेशमा रहेका नेपाली तथा तीजका बेला माइतीघर, परिवार र गाउँघरको सम्झनामा भावुक हुने चेलीबेटीको भावना गीतसँग जोडिने निर्माण पक्षको विश्वास छ। तीजको उत्सवमय वातावरणबीच परदेशी नेपालीको मनमा लुकेको कथा र पीडालाई गीतले कति प्रभावकारी रूपमा प्रस्तुत गर्छ भन्ने कुरा गीत तथा भिडियो सार्वजनिक भएपछि थप स्पष्ट हुनेछ। परदेशीको पीडाले यस वर्षको तीजमा परदेशिएका नेपालीको मन छुने र उनीहरूको वास्तविक जीवनको कथा संगीतमार्फत स्वदेशसम्म पुर्‍याउने अपेक्षा गरिएको छ।


    बिरेन्द्र पौडेल
    लेखकबाट थप