काठमाडौं । चलचित्र ‘गौँथली’ले शनिबार अनपेक्षित ग्रसकलेक्सन गरेको छ । बक्सअफिस स्रोतका अनुसार यो चलचित्रले शनिबार मात्रै बिहानदेखि दिउँसो १ बजेसम्म एक करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
स्रोतका अनुसार गत शुक्रबार रिलिज भएको यो चलचित्रले हिजो (शुक्रबार)सम्म चार करोडको आंकडा कटाइसकेको थियो ।
आज १ बजेसम्म नै एक करोड ग्रसकलेक्सन गरेपछि ‘गौँथली’ले नेपाली बक्सअफिसमा ठूलो परिमाणमा बक्सअफिस कलेक्सन गर्ने देखिएको छ ।
चलचित्र ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।
