काठमाडौँ, ७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलपछि जनकपुर बोल्ट्सका समर्थकहरूमाथि भएको नश्लीय र साम्प्रदायिक व्यवहार दुखद भएको बताउनु भएको छ । उहाँले यस्ता क्रियाकलाप गर्नेलाई तुरुन्त कारबाही गर्न सरकार समक्ष माग गर्नुभएको हो ।
यस्ता हरकतहरू कुनै पनि बहानामा स्वीकार्य नरहेको उहाँले बताउनु भएको छ । उहाँले सामाजिक सञ्जालमा भन्नुभएकाे छ, ‘जनकपुर बोल्ट्सका समर्थक प्रति केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुख लाग्ने खालको छ। मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस गरेको छ, जुन एकदमै सकारात्मक छ। सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस्। यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन।
