• ट्रेण्डिङ्ग :
एचआइभी सङ्क्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट बञ्चित

एचआइभी सङ्क्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट बञ्चित


  • 2.7K
    SHARES
    • पौष ८, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 4.1K Views

    एचआइभी सङ्क्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट बञ्चित

    गण्डकी, ८ पुस । विभेदको डरले समाजमा खुल्न नसकेका एचआइभी सङ्क्रमित निःशुल्क स्वास्थ्य बिमाको सुविधाबाट बञ्चित भएका छन् । निःशुल्क स्वास्थ्य बिमा कार्यक्रममा समावेश हुन सम्बन्धित वडाबाट सिफारिस लिनुपर्ने व्यवस्थाका कारण एचआइभी सङ्क्रमित समस्यामा परेका हुन् ।

    images

    एचआइभीको क्षेत्रमा क्रियाशील धवलागिरि पोजेटिभ समूहका वित्त तथा कार्यक्रम संयोजक सुवास कँडेलले बागलुङमा कूल दुई सय आठजना एचआइभी सङ्क्रमितमध्ये ३४ जनाको स्वास्थ्य बिमा हुनसकेको छैन ।

    ‘एक सय ७४ जनाको निःशुल्क स्वास्थ्य बिमा भएको छ, समाजमा खुल्न नचाहने र विभेदको डरले ३४ जना स्वास्थ्य बिमामा समेटिन सक्नुभएको छैन’, उहाँले भन्नुभयो, ‘उनीहरूका लागि धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्र वा धवलागिरि पोजेटिभ समूहमार्फत बिमाको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग हाम्रो माग छ ।’

    निःशुल्क स्वास्थ्य बिमा गर्न नपाएकामा जिल्लाको गलकोट, ढोरपाटन नगरपालिका, बडिगाड, निसीखोला गाउँपालिकालगायत विभिन्न स्थानीय तहका एचआइभी सङ्क्रमित रहेका छन् ।

    बिमा सुविधाबाट बञ्चित हुँदा एचआइभी सङ्क्रमित महँगो उपचार सेवा लिन बाध्य छन् । सरकारले एचआइभी सङ्क्रमितका लागि निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको छ । कतिपय स्थानीय तहले आफ्नै बजेटबाट एचआइभी सङ्क्रमितको स्वास्थ्य बिमा गर्दै आएका छन् ।

    स्वास्थ्य कार्यालय, बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले स्वास्थ्य कार्यालयको सिफारिसमा या अन्य आधिकारिक निकायमार्फत एचआईभी सङ्क्रमितको बिमा गरिदिने व्यवस्था गर्नुपर्ने बताउनु भएको हो ।

    ‘बिमाको सिफारिसका लागि सङ्क्रमित आफ्नै ठाउँमा जानुपर्ने भएकाले उहाँहरूलाई समस्या भएको हो’, उहाँले भन्नुभयो, ‘एचआइभी सङ्क्रमितलाई सहज रूपमा स्वास्थ्य बिमाको सुविधा दिन स्वास्थ्य बिमा बोर्डले पहल लिनु आवश्यक छ ।’ यसअघि धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्रबाट एचआइभी सङ्क्रमितको स्वास्थ्य बिमा हुँदै आएकामा अहिले बजेट कटौती भएपछि उक्त केन्द्रबाट बिमा हुन छाडेको छ ।

    धवलागिरि पोजेटिभ समूहका अनुसार जिल्लामा रहेका कूल दुई सय आठ एचआइभी सङ्क्रिममध्ये २२ जना बालबालिका रहेका छन् । सङ्क्रमितमध्ये एक सय ५२ जनाले धवलागिरि अस्पतालमा रहेको एआरटी केन्द्रबाट औषधोपचारको सेवा लिइरहेका छन् ।

    जिल्लाको ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ अस्पतालबाट पनि एचआइभी सङ्क्रमितका लागि औषधि उपलब्ध गराइँदै आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


    तेस्रो आँखा