काठमाडौँ, ९ पुस । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने ठाउँमा अपुग भएको भन्दै अन्य कुराहरू खोज्न भौँतारिन नहुने बताउनु भएको छ । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
अध्यक्ष दाहालले पहिला संविधानमा भएका विषयहरू कार्यान्वयन गर्नेकुरामा जोड दिन जरुरी रहेको बताउनु भएके छ । उहाँले संविधानको कार्यान्वयनमा गम्भीर बन्न सुझाव दिनुभयो । उहाँले संविधान कार्यान्वयनका क्रममा आएका अप्ठ्याराहरूको विकल्पमा जान सकिने बताउनुभयो ।
अध्यक्ष दाहालले केही कानुन बन्न नसक्दा संघीयता कार्यान्वयन गर्न कतै न कतै असहज भएको महसुस गरेको बताउनुभयो । राष्ट्रिय सभाको समिति र सभाको बैठकमा गणपूरक संख्या नपुगेर बैठक स्थगित गर्न नपरेको उहाँले बताउनु भएको ।
उहाँले भन्नुभयो, ‘संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुको सट्टा अपुग भए भनेर अरू नै चिज खोज्न हामी भौँतारिएका छौँ । यो अलि गम्भीर विषय हो । पहिला संविधानमा भएका विषयहरू कार्यान्वयन गर्नेकुरामा हामी गम्भीर बन्नसकौँ । तिनलाई कार्यान्वयन गर्न जाँदा समस्या भयो भने अन्य विषय खोज्ने हो ।’
अध्यक्ष दाहालले प्राप्त उपलब्धिहरूको रक्षा र सम्प्रेषणहरू गर्न जरुरी रहेको बताए । उनले उपलब्धिहरूको सम्प्रेषण राम्रोसँग नहुँदा समस्याहरु पैदा भइरहेको जिकिर गर्नुभयो ।
