घोराही १० पुस । मेट लाईफ ईन्स्योरेन्स कम्पनी र ग्रामीण महिला उत्थान केन्द्रको आयोजनामा यही पुस १५ गते लमही नगरपालिका वार्ड ८ मा रहेको स्वास्थ्य चौकीमा निःशुल्क सिकलसेल एनिमिया चेकजाँचका लागि शिबिर संञ्चालन हुने भएको छ ।
ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न सरोकारवालाहरु सँगको समन्वयात्मक बैठकले सोहि दिन निशुल्क शिबिर संञ्चालन गर्ने निर्णय गरेको हो । बिशेष गरी थारु समुदायमा सिकलसेल एनिमिया रोग देखिने भएको हुनाले संस्थाले थारु समुदायका र १० बर्षदेखि ४० वर्ष उमेर समुहका ब्यक्तिहरुलाई लक्षित गरी लमही नगरपालिकाको वार्ड नम्बर ७, ८ र ९ लाई बासिन्दाहरुलाई उक्त शिबिरमा चेकजाँच गरी सहुलियत लिन अनुरोध समेत गरेको छ ।
सरोकारवालाहरु सँगको समन्वयात्मक बैठकमा बोल्दै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले यस कार्यक्रमले समुदायमा राम्रो प्रभाव पार्ने र सिकलसेल बिरामी रोगी निरोगी पत्ता लगाउन सकिने भएकाले कार्यक्रमलाई सफल गराउनका लागि पालिकाको पुर्ण सहयोग रहने जानकारी दिनुभएको थियो । यसैगरी कार्यक्रममा बोल्दै स्वास्थ्य शाखाका प्रमुख नारायण प्रसाद शर्माले पालिकाले यो कार्यक्रम संञ्चालन गरेपनि यस क्षेत्रमा पहिलो पटक निशुल्क स्वाथ्य शिबिर संञ्चालन गरी समुदायलाई सचेत गराउने योजना ल्याएकोमा संस्थालाई धन्यबाद दिनुभएको थियो भने लमही स्वास्थ्य शाखाको तर्फबाट पुरा सहयोग रहने पनि जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष आसमानी चौधरीले पुस १५ गतेदेखि संञ्चालन हुने निशुल्क सिकलसेल एनिमिया चेकजाँज स्वास्थ्य शिबिरलाई सफलतापुर्वक संञ्चालन गर्नका लागि यहि पुस ११ गते महिला स्वास्थ्य स्वय्सेबिका र पुस १२ गते टोलका अगुवा, शिक्षक, बुद्धिजिबी, महतवा लगायतलाई सिकलसेल सम्बन्धी अभिमुखीकरण गर्ने जानकारी दिनुभयो । कार्यक्रममा लमही स्वास्थ्य शाखाका प्रमुख नारायण प्रसाद शर्मा, कार्यपालिका सदस्य देवा परियार, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख मेनका खड्का, सुचना प्रबिधि अधिकृत नरेन्द्र गुप्ता, लमही नगरपालिकामा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लि.का अध्यक्ष देबिमाया थापा, दिपन सामाजिक उद्यमी महिला सहकारी संस्था लि.का अध्यक्ष पुनम घर्ती मगर, थारु कल्याणकारीणी सभाका हल्लुराम चौधरी र आत्मनिर्भर लघुबित्त बित्तिय शाखाका शाखा प्रबन्धक लगायतको उपस्थीतिमा उक्त बैठक सम्पन्न भएको हो ।
संस्थाका पार्वती बस्नेतले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण भिमकान्त चौधरीले गर्नुभएको थियो । संस्थाले हाल बाँके र दाङं जिल्लामा निःशुल्क सिकलसेल शिबिर संञ्चालन गर्दैछ भने गतबर्ष पनि दाङ जिल्लाको घोराही उपमहानगरपालिका वार्ड नम्बर १० मा निःशुल्क सिकलसेल स्वास्थ्य चेकजाँच शिबिर संञ्चालन गरी ४ सय १२ जना लाई सेवा दिएको थियो, त्यसमध्ये ४१ जना प्रभाबित भेटिदा उहाँहरुलाई सिलाईकटाई तालिम, ब्युटिपार्लर तालिम, पढ्ने उमेर समुहका बालबालिकाहरुलाई छात्रबृत्ति र ब्यवसायिक बाख्रापालन तथा तरकारी खेति तालिम समेत प्रदान गरेको थियो ।
