• ट्रेण्डिङ्ग :
तरकारीखेतीबाट वार्षिक पाँच लाखसम्म आम्दानी

तरकारीखेतीबाट वार्षिक पाँच लाखसम्म आम्दानी


  • 2.9K
    SHARES
    • पौष ११, २०८१ बिहीबार
    • १ बर्ष अघि
    • 4.4K Views

    तरकारीखेतीबाट वार्षिक पाँच लाखसम्म आम्दानी

    कैलाली, ११ पुस । जिल्लाको धनगढी उपमहानगरपालिका–६ मटियारीका किसान बिखलु रानाले व्यावसायिक तरकारीखेतीबाट दैनिक दुई हजारसम्म आम्दानी गर्दै आउनु भएको छ ।

    images

    बीस वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका उनले अहिले करिब नौ कठ्ठा जग्गामा व्यावसायिक उत्पादन गरिरहनु भएको छ । उहाँले सबै खर्च कटाएर तरकारीखेतीबाट वार्षिक चारदेखि पाँच लाखसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो ।

    रानाले भन्नुभयो, ‘तरकारी बिक्रीबाट प्रशस्त आम्दानी भइरहेकाले जीविकोपार्जनमा समस्या छैन । सानोतिनो समस्या पर्दा छरछिमेक र आफन्तलाई सहयोग गर्न पाएको छु, आफूले ऋण लिनु परेको छैन । आठ जनाको परिवारको सबै खर्च बालबच्चाको पढाई लेखाइ यसैबाट चलेको छ ।’ उहाँले मौसमी, बेमौसमी सबै किसिमका तरकारी लगाउने गरेको बताउनु भयो ।

    रानाका अनुसार बिक्री कम हुँदा दैनिक एक हजार पाँच सयसम्म र बढीमा दुई हजारसम्म आम्दानी भइरहेको छ । उहाँले भन्नुभयो, ‘तरकारीबाट दैनिक रूपमा आम्दानी लिन सकिने भएकाले जीविकोपार्जन र दैनिक खर्च सहजै टरेको छ । स्थानीयस्तरमा कृषि गरे मात्रै पनि मनग्ये आम्दानी गर्न सकिने मेरो अनुभव छ, मेरो मान्यता जग्गा बाँझो राख्नु हुँदैन भन्ने हो ।’ मेहनत गर्न सके तरकारीखेतीबाट मनग्ये आम्दानी लिन सकिने उहाँको भनाइ छ ।

    सोही ठाउँका बन्धु रानाले पनि तरकारीखेतीबाट सहजै जीविकोपार्जन भइरहेको बताउनुभयो । आठ कठ्ठा जग्गामा ३५ वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका बन्धुले सबै खर्च कटाएर वार्षिक तीन लाखसम्म आम्दानी हुने गरेको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘तरकारीखेतीबाट घर खर्च राम्रै चलेको छ, दैनिक खर्चका लागि अरूसँग ऋण माग्नु पर्दैन । दश जनाको परिवारको सबै खर्च यसैबाट भइरहेको छ । दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म तरकारी बिक्री हुन्छ ।’

    भारतबाट आउने तरकारी सस्तोमा पाइने भएकाले उपभोक्ताले सस्तो मूल्यमा किन्ने भन्दै सोही कारणले बजारीकरणको समस्या रहेको बन्धुले बताए । ‘स्थानीय सरकारले भारतबाट आउने तरकारी रोक्नु पर्छ, यसरी यहाँका स्थानीय मर्कामा परिरहेका छन्’, उहाँले भन्नुभयो । समयमा मल पाउन सके तरकारीखेती गर्न अझै सहज हुने उहाँको भनाइ छ ।

    पछिल्लो समय मटियारीका अधिकांश किसानले व्यावसायिक तरकारीखेती गर्दै आउनु भएको छ । यहाँका किसानका लागि तरकारीखेती जीविकोपार्जनको राम्रो स्रोत बनेको छ । तरकारीखेतीबाट घर व्यवहार चलाउन सहज भएको किसान बताउँछन् ।


    तेस्रो आँखा