काठमाडौं १५ पुस । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ । कार्टर फाउन्डेसनले जनाए अनुसार हिजो साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा उहाँको निधन भएको हो ।
सन् १९७७ देखि १९८१सम्म राष्ट्रपति हुनुभएका कार्टर १०० वर्ष बाच्ने अमेरिकाको पहिलो राष्ट्रपति समेत हुन् । राजनीतिमा प्रवेश गर्नु अघि उहाँ सामान्य किसान तथा अमेरिकी जल सेनाका लेफ्टिनेन्ट हुनुहुन्थ्यो ।
यसअघि उहाँकी श्रीमती रोसलायन कार्टरको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो । अमेरिकी इतिहासमा सबैभन्दा लामो समयको जोडीको रूपमा समेत उनीहरूको कीर्तिमान थियो। उनीहरू ७५ वर्ष एकै साथ रहेका थिए ।
गत वर्ष छालाको क्यान्सर भएपछि उहाँ घरमा आराम गरिरहनुभएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले उहाँको निधनपछि शोक वक्तव्य जारी गर्दै प्रिय साथी तथा असाधारण नेता भएको बताउनुभएको छ ।
यसैगरी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पनि अमेरिकाका एक असाधारण नेताको रूपमा कार्टरलाई सबैले सम्झने उल्लेख गर्नुभएको छ । अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र उपराष्ट्रपति कमला ह्यारिसले पनि उहाँको निधनमा शोक व्यक्त गरेका छन् ।
बेलायती राजा र्चाल्सले उहाँको निधनमा शोक व्यक्त जारी गर्दै अमेरिका संसारकै सबै भन्दा राम्रो स्थान हुनुमा कार्टरको योगदान रहेको चर्चा गरेका छन् ।
