• ट्रेण्डिङ्ग :
शीतलहरका कारण जनजीवन प्रभावित

शीतलहरका कारण जनजीवन प्रभावित


  • 2.1K
    SHARES
    • पौष १५, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 3.2K Views

    शीतलहरका कारण जनजीवन प्रभावित

    धनुषा १५ पुस । धनुषा लगायत तराईका जिल्लामा सोमबारदेखि शीतलहर चल्न थालेपछि चिसो बढेको छ । शीतलहरका कारण जनजीवनसमेत प्रभावित बनेको छ । चिसोबाट सबैभन्दा बढी आर्थिक अवस्था कमजोर भएका विपन्न परिवार प्रभावित बनेका छन् । 

    images

    उहाँहरु आगो बालेर चिसो छल्ने गरेका छन् । तर विपन्न परिवारलाई शीतलहर र चिसोबाट जोगाउन सरोकारवाला निकायको पूर्वतयारी कमजोर देखिएको छ । 

    तथ्याङ्क अनुसार मधेश प्रदेशमा दलित तथा विपन्नको जनसङ्ख्या १७.२७ प्रतिशत छ । अधिकांशले दैनिक मजदुरी गरी घर व्यवहार चलाउँदै आएका छन् । त्यसमा पनि अशक्त र असहायको अवस्था कहालीलाग्दो छ । विगतमा शीतलहरका बेला चिसोले कठ्याग्रिएर मानिसको मृत्युसमेत भएको छ । 

    धनुषाको मिथिला नगरपालिका–४, पुष्पवलपुरका बिष्णु खदालले शीतलहरका बेला न्यानो ओढ्ने ओछ्याउने लत्ताकपडा, तातो र पोषिलो खानाको अभावमा विपन्न समुदायको जनजीवन कष्टपूर्ण बनेको बताउनुभयो । विपन्न परिवारलाई चिसोबाट जोगाउन यस वर्ष कुनै पनि निकायबाट राहत प्राप्त नभएको उहाँले जानकारी दिनुभयो । “जाडो बितेपछि राहत दिएर के काम रु विपन्न परिवार अहिले समस्यामा छन् । जाडोको समयमा परालको आगो ताप्छन तर कसैले दाउरासमेत उपलब्ध गराउँदैनन”, उहाँले भन्नुभयो । 

    सोही ठाउँका ललिता सदाले जाडोमा आफूहरुले परालको आगो ताप्ने गरेपनि दाउरा कतैबाट उपलब्ध नभएको बताउनुभयो । मानिसको ज्यानै जान थालेपछि मात्र यहाँ राहत लिएर जाने प्रवृति छ । यस्ता घटना हुनुअघि नै तीनै तहका सरकार समन्वय गरी विपन्नको जीवनरक्षाका लागि समयमै कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाइ छ । 

    गृह तथा सञ्चार मन्त्रालय मधेश प्रदेशका प्रवक्ता तथा शाखा अधिकृत दिपेन्द्रकुमार यादवले चिसो लक्षित कार्यक्रम तय गर्न मङ्लबार प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बस्ने बताउनुभयो । उहाँले तत्काल शीतलहर प्रभावित पाँच हजार विपन्नलाई कम्बल वितरण गर्ने कार्य भइरहेको जानकारी दिनुभयो । 

    जाडोबाट प्रभावित भएका विपन्न वर्गमा राहतका लागि न्यानो कम्बल वितरणको कार्य भइरहेको छ । चिसोबाट हुनसक्ने क्षति न्यूनीकरणका विषयमा थप कार्यक्रम तय गर्न मङ्गलबार प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बोलाउने प्रवक्ता यादवले बताउनुभयो । 

    धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराज कडरियाले विपद् व्यवस्थापन गर्न पूर्वयोजना बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, हामीले विपद् पूर्वतयारीका लागि पूर्वयोजना बनाएका छौँ । सोही योजनाअनुसार कार्य गरिरहेका छौँ । चसोबाट हुनसक्ने क्षतिका विषयमा सर्वसाधारणलाई जनचेतना जगाउने, विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका क्षेत्रमा काम भइरहेको उहाँले बताउनुभयो।

    मिथिला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक भण्डारीले ज्येष्ठ नागरिक, दलित, विपन्न र सीमान्तकृत समुदायलाई अघिल्लो वर्ष न्यानो कम्बल तथा सिरक वितरण गरिएको बताउनुभयो। चिसो प्रभावित विपन्न परिवारलाई यसवर्ष पनि कम्बल तथा सिरक वितरण गर्ने योजना रहेको बताउँदै उहाँले ठाउँठाउँमा आगो बाल्न दाउराको व्यवस्थापन गर्न पहल भइरहेको जानकारी दिनुभयो ।


    तेस्रो आँखा