बाकु, १६ पुस । हालै काजकस्तानको अकताउ सहरमा अजरबैजान एयरलाइन्सको विमान दुर्घटना भएको घटनामा रुसले कोही दोषी पाइए सजाय दिने प्रतिबद्धता जनाएको छ । विमान दुर्घटनाका दोषीलाई कारबाही हुने कुरा मस्कोले प्रतिबद्धता जनाएको अजरबैजानी महाभियोजकले एक विज्ञप्तिमार्फत जनाएका छन् ।
क्रिसमसको दिनमा बाकुबाट रुसको चेचन्या क्षेत्रका लागि उडेको विमान रुसी हवाई क्षेत्रमा लागेपछि काजकस्तानको अक्ताउ सहरमा दुर्घटनामा परेको थियो । विमान मिसाइल लागेर दुर्घटना भएको दाबी गरिँदै आएको छ ।
उक्त दुर्घटनामा ६७ जना सवार विमानका ३८ जनाको मृत्यु भएको थियो । रुसको अनुसन्धान समितिका प्रमुखले यस घटनाको दोषी पहिचान गर्न र सजाय दिलाउन ठोस उपायहरू अपनाइरहेको भनिएको छ ।
यस मामिलामा रुसले फौजदारी अनुसन्धान पनि सुरु गरेको छ । यस घटनालाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अजरबैजानका समकक्षीसँग माफी पनि मागेका थिए ।
उड्डयन विज्ञहरूले दुर्घटनामा परेको विमानलाई रुसी प्रतिरक्ष प्रणालीको मिसाइल लागेको भनिरहेका छन् । तर रुसले भने अहिलेसम्म यो कुरा स्वीकार वा पुष्टि दुवै गरेको छैन ।
