दंगीशरण १६ पुस । दगीशरण गाउँपालिकाले उन्नत तथा हाइब्रीड जातका तरकारीका बिउबिजनहरु ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा उन्नत तथा हाइब्रीड जातका तरकारीका बिउ बितरण गरेको हो ।
स्विकृत बार्षिक कार्यक्रम अनुसार ४ लाख बजेट बिनियोजन भएकोमा १ लाख ५९ हजार च्याउको बिउ खरीदमा खर्च गरीएको र बाँकी रहेको २ लाख ४१ हजार र पालिकाको २ लाख ४१ हजार जम्मा किसानको गरी कुल ४ लाख ८२ हजारको तरकारीको बिउ बितरण गरीएको हो ।
गाउँपालिकाले एक हप्ताको सुचना आह्वानगरी ५४ वटा समुहरुबाट माग निबेदन भए बमोजिम तीन थरीका बोडी, काक्रा, खुर्सानी, भाण्टा,फर्सी ,करेला लगायतका ८ प्रकारका तरकारीहरुको बिउ बितरण गरीएको कृषिसाखा प्रमुख शरु भुषालले जानकारी दिनुभयो ।
तरकारीको बिउ बितरण गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफ्नो गाउँपालिका भित्रका किसानको आर्थिक वृद्धि गरी किसानको आर्थिक स्तर उकास्न आफुहरु लागि परेको बताउनु भयो । हाइब्रीड जातको बिउ केही महङ्गो हुने हुँदा किसानहरुलाई खरीद गर्न केही सहजहोस र थोरै रकमले उन्नत र हाइब्रीड जातका तरकारी उत्पादनमा टेवा पुगोस भन्ने उदेश्यले आफुहरुले बजेट बिनियोजन गरेको अध्यक्ष गिरीले बताउनु भयो ।
अर्को प्रसङ्गमा अध्यक्ष गिरीले किसानहरुलाई सहजहोस भन्ने उदेश्यले साविक गोल्टाकुरी र श्रीगाउँबाट कृषि र पशुसेवा समेत सुचारु गरिएको जानकारी दिँदै ठाउँ ठाउँमा तरकारी संकलन केन्द्र समेत संचालनमा ल्याएको जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष शम्भु गिरी, उपाध्यक्ष पिमा वली खड्का र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपालीको उपस्थिति थियो ।कार्यक्रमको सहजीकरण गाउँपालिका कृषि शाखा सहायक मान बहादुर डाँगीले गर्नु भएको थियो ।
