राेल्पा २५ पुस । अवैध रुपमा भइरहेको चुनढुंगा उत्खनन् विरुद्ध रोल्पाको त्रिवेणी गाउँपालिका बुढागाउँका स्थानीय पुनः आन्दोलित भएका छन् ।
रोल्पा चुनढुंगा खानी प्रालिले स्थानीयबासी र गाउँपालिकाको मागप्रति चासो नदेखाएपछि स्थानीयले संघर्षका कार्यक्रम गर्दै आएका हुन् । पटक–पटक छलफल र बैठक गरेर पनि निकास ननिकालेपछि स्थानीयले आन्दोलन रोजेका हुन् ।
अघिल्लो महिनाको १८ गतेदेखि आन्दोलन थाले पनि पूर्वअर्थमन्त्री वर्षमान पुनको आग्रहमा स्थानीयले आन्दोलन रोकेका थिए । तर पुनले पनि चासो नदिएपछि स्थानीय पुनः आन्दोलन गर्न उत्रेका हुन् । ‘आन्दोलन थालेकै बेला वर्षमान पुन खानी क्षेत्रमा उपस्थित भएर वार्ता गरेर समस्याको समाधान गर्ने भन्ने आश्वासन दिएकाले केही समय आन्दोलन रोकेका थियौं । तर उनले पनि ध्यान नदिएपछि पुनः आन्दोलन गर्नुको विकल्प छैन,’ संघर्ष समितिका संयोजक ओमराज घर्तीमगरले भने ।
त्रिवेणीको ३ र ४ वडामा रहेका ढुंगाखानी उत्खनन् गर्न नछाडी अवैध रूपमा गतिविधि चलाएको र सहमति र वार्तामा भाग नलिएको भन्दै स्थानीयले खानी सञ्चालकविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएका हुन् । संघर्ष समिति गठनपछि राजनीतिक दलका नेताहरूलाई समेत सहभागी बनाएर समाधान गर्ने प्रयास गरिएको छ । तर समितिले धेरै पटक वार्तामा बोलाउँदा र कानुनी व्यवस्थाको पालना गर्न आग्रह गर्दा पनि खानी सञ्चालक सम्पर्कमा नआएको गुनासो गरेको छ । समितिको माग र कानुनी प्रक्रियाप्रति पूर्ण रूपमा बेवास्ता गरेको आरोप लगाउदै संघर्ष समिति सदस्य र स्थानीयले खानी क्षेत्रलाई नियन्त्रणमा लिएर आन्दोलन गर्ने तयारी गरेका छन् ।
