शर्मा कांग्रेसका प्रवक्ता हुनुहुन्छ । शर्माले आउँदो महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसक्नु भएकाे छ । विगतमा सभापति शेरबहादुर देउवा समूहका शर्मा अहिले देउवासँग खटपट छ भन्ने चर्चा चलेकाे छ । अहिले उहाँ उपसभापति विमलेन्द्र निधि नजिक भएको चर्चा छ । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला तहमा अहिले धमाधम अधिवेशनका कार्यक्रम भइरहेका छन् ।
झापामा भने मुख्य प्रतिस्पर्धामा सिटौला समूह र विश्वप्रकाश समूह नै देखिएको छन् । केन्द्रमा जस्तोसुकै समीकरण भए पनि झापाको समीकरण भने रोचक छ । विगतमा देउवानिकट मानिनु भएका केशवकुमार बुढाथोकीले झापाको कांग्रेस निर्वाचनमा भने विश्वप्रकाशको साथ छाडेर सिटौला समूहलाई सघाउनु भएकाे छ। केही उम्मेदवारको हकमा झापामा रामचन्द्र पौडेल समूहकी सरिता प्रसाईं समूहले विश्वप्रकाशका उम्मेदवारलाई समर्थन गरेका छन् । झापामा यस पटक निकै रोचक रूपमा कांग्रेसको निर्वाचन सम्पन्न भएको छ । विगतमा सिटौला समूहमा रहनु भएका लोकराज ढकालले पनि शर्मा समूहलाई साथ दिनुभयाे । उहाँ रेडक्रस सोसाईटी झापाकाे अध्यक्षसमेत हुनुहुन्छ ।
झापामा संघीय निर्वाचन क्षेत्रअन्तर्गत पाँच निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रअन्तर्गत १० वटै निर्वाचन क्षेत्रमा चुनावी प्रक्रियाबाट नेतृत्व चयन भइसकेको छ । प्रदेश अधिवेशन र महाधिवेशन प्रतिनिधिको पनि टुंगो लागिसकेको छ । अहिले १० मंसिरमा हुने जिल्ला कार्यसमितिको निर्वाचनले झापामा कांग्रेसको आन्तरिक राजनीति गर्माएको छ । सिटौला समूहबाट जिल्ला सभापतिमा देउकुमार थेपे र शर्मा समूहबाट राम कट्टेलले उम्मेदवारी दिनु भएकाे छ। यद्यपि, तल्लो तहबाट भएको प्रतिस्पर्धाअनुसार सिटौला समूह झापामा हाबी छ । प्रदेशस्तरीय १० निर्वाचन क्षेत्रमध्ये सिटौला समूहकाले पाँच ठाउँमा जित हात पारेका छन् ।
यस्तै, शर्माले तीन ठाउँमा जित हात पारे भने दुई जना तटस्थ छन् । क्षेत्र नम्बर १ ‘क’ का हरिबहादुर बुढाथोकी विगतमा शर्मा समूहमा थिए । अहिले उनले सिटौला समूहको समर्थनमा निर्वाचन जितेका हुन् । त्यसकारण उनी तठस्थ जस्तै देखिन्छन् । यस्तै, निर्वाचन क्षेत्र ४ ‘क’ का सभापति विगतमा शर्मासँग नजिक थिए । तर, प्रदेश क्षेत्रीय सभापतिमा सिटौला समूहको सहयोगमा सर्वसम्मत निर्वाचित भएपछि उहाँ तटस्थ हुनुहुन्छ ।
झापा- १ ‘ख’ को क्षेत्रीय सभापतिमा शर्मा समूहका सन्तोष न्यौपाने विजयी भएका छन् । क्षेत्र नम्बर २ ‘क’ मा लक्ष्मीप्रसाद आचार्य र क्षेत्र नम्बर २ ‘ख’मा किरण श्रेष्ठ निर्वाचित भएका छन् । उहाँहरू दुवै सिटौला समूहका हुन्नुहुन्छ । क्षेत्र नम्बर ३ ‘क’ चिन्तामणि खरेल र क्षेत्र नम्बर ३ ‘ख’ मा तुलसीप्रसाद ओली विजयी भएका हुनु भएकाे हाे । उहाँहरू दुवै सिटौला समूहका हुन्नुहुन्छ । यस्तै, क्षेत्र नम्बर ४ ‘ख’ मा सिटौला समूहका ख्यामराज सिटौला विजयी भएका हुनुभएकाे छ । क्षेत्र नम्बर-५ ‘क’ मा जीवनकुमार र क्षेत्र नम्बर ५ ‘ख’ मा रवि केसी न्यौपाने विजयी भएका हुनु भएकाे छ । उहाँहरू दुवै विश्वप्रकाश शर्मा समूहका हुन्नुहुन्छ ।
यस्तै, संघीय निर्वाचन क्षेत्रअन्तर्गत झापामा रहेका पाँच निर्वाचन क्षेत्रमध्ये सिटौला समूहले तीन र विश्वप्रकाश समूहले दुईवटा निर्वाचन क्षेत्रमा सभापतिको जित हात पारेको छ । क्षेत्र नम्बर १ को सभापतिमा शर्मा समूहका इन्द्रबहादुर बुढाथोकी, क्षेत्र नम्बर २ मा सिटौला समूहका खगेन्द्र मैनाली, क्षेत्र नम्बर ३ मा सिटौला समूहकै गणेश पोखरेल, क्षेत्र नम्बर ४ मा सिटौला समूहका जयनारायण साह र क्षेत्र नम्बर ५ मा विश्वप्रकाश समूहका ढुण्डीराज भण्डारी निर्वाचित हुनु भएकाे छ ।
यस्तै, महाधिवेशनप्रतिनिधितर्फ पनि शर्मा समूहभन्दा सिटौला समूह नै अघि छ । झापामा तुलनात्मक रूपमा सिटौला समूह बलियो देखिन्छ ।
