काठमाडौँ, ३ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस(एमालेबिच भएको गठबन्धनमा कुनै समस्या नभएको बताउनु भएको छ । आफ्नै निवासमा दलबाट प्रतिनिधित्व गरेर सरकारमा गएका मन्त्रीहरूको ब्रिफिङ सुनेपछि देउवाले सात बुँदे सहमति सफल बनाउने गरी काम गर्न निर्देशन दिनु भएको छ ।
बैठकमा सहभागि गृहमन्त्री रमेश लेखकका अनुसार देउवाले सबै मन्त्रीहरूको कुरा सुनेपछि यस्तो बताउनु भएको हो । ‘सभापतिज्यूले पनि कांग्रेस एमाले सहमति अनुसार अघि बढ्ने हो । यसै विषयमा केन्द्रित भएर काम गर्नु भन्नुभयो‚’ उहाँले भन्नुभयो ।
बैठकमा हामी दुई दल मिलेर सरकार बनेको र गठबन्धनमा कुनै समस्या तथा बाधा अप्ठ्यारा नभएको भन्दै छलफल भएको उहाँले बताउनु भएको छ ।
‘हामीबिच भएका सात बुँदे सहमति अनुसार यो समीकरण लाई अघि लाने गरेर काम गर्ने तथा सेवा प्रवाहको क्षेत्रमा नागरिकलाई बढी भन्दा बढी सेवा प्रवाह गर्ने र मुलुकमा आर्थिक समृद्धि र सुशासन कायम गर्ने विषयमा छलफल भएको छ‚’ उहाँले भन्नुभयो ।
