सुर्खेत, माघ ७ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले शहिदहरुको अपमान हुने गरेर अभिव्यक्ति दिएको आरोप पूर्व मुख्यमन्त्री राजकुमार शर्माले आरोप लगाउनु भएकाे छ ।
सोमबार सुरु भएको कर्णाली प्रदेशसभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा बोल्दै पूर्व मुख्यमन्त्री शर्माले कँडेल हालै रुकुम पश्चिमको भ्रमणमा जाँदा शहिदहरुलाई अपमान हुने गरेर अभिव्यक्ति दिएको आरोप लगाउनु भएकाे हाे ।
‘माननीय मुख्यमन्त्रीज्यू रुकुम जाँदा त्यहाँको शहिद पार्कमा पुग्नु भएछ,’ संसद बैठकमा शर्माले भन्नुभयाे, ‘उहाँले शहिद पार्कमा उभिएर मरेका मान्छेले जिउँदा मान्छेहरुलाई दुःख दिने भए भन्नु भएछ ।’ माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका शर्माले मुख्यमन्त्री कँडेललाई आकाशबाट खसेर आएको हो वा धर्तीबाट उम्रिएर आएको हो भन्दै प्रश्न पनि गर्नुभयाे ।
‘यदि यो कुरा सत्य हो भने माननीय मुख्यमन्त्रीज्यू आकाशबाट खस्नु भयो वा धर्तीबाट उम्रिनु भयो थाहा छैन्,’ उहाँले प्रश्न गर्दै भन्नुभयाे, ‘म यहीँ गणतन्त्रको उपजको रुपमा सांसदको रुपमा कार्यरत छु ।’ उहाँले इतिहासको अवमूल्यन नगर्न पनि आग्रह गर्नुभयाे । ‘इतिहासमा मा के भयो ? बलिदान भयो, विद्रोह थियो, जनयुद्ध थियो या आतंक थियो, त्यति बेला सरकारमा को थियो,’ उहाँले भन्नुभयाे, ‘किन यति धेरै हेपेर बोलिन्छ, मलाई अच्चम लाग्छ ।’