धनगढी, १५ माघ । दुई किशोरी मृत भेटिएको अछाम घटनामा सीआईबीको सहयोगमा अनुसन्धान थालिएको छ । शनिबार मृत फेला परेका ढकारी गाउँपालिका– ८ पल्साताका १४ वर्षीया इसरा खड्का र सरस्वती खड्काको पोस्टमार्टम सकिएसँगै सीआईबीको सहयोगमा अनुसन्धान थालिएको हो ।
किशोरीहरूको सोमबार भेरी अस्पताल नेपालगञ्जमा पोस्टमार्टम गरिएको हो । पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार केही दिनमा रिपोर्ट आउने जनाएको छ। अनुसन्धान जारी रहे पनि पोष्टमार्टम रिपोर्ट पछि घटनाबारे थाहा हुने अछामका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
पोस्टमार्टम हिजो नै सकिए पनि रात परेकाले शव आज मात्रै अछाम लगिँदैछ । ‘पोस्टमार्टम सकियो । रिपोर्ट आएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे तथ्य खुल्न सक्छ । अहिले भन्न सकिने अवस्था छैन । भर्खरै शव ल्याउँदै छौँ । सम्भवतः शव आजै आफन्तलाई बुझाउँछौँ ।’ डीएसपी भण्डारीले भन्नुभयो, । आफन्तले भने घटनाको अनुसन्धान नहुँदासम्म शव नबुझ्ने अडान लिएका छन् ।
