काठमाडौं। मधेश प्रदेश सभाको सातौं वार्षिक उत्सव मनाउने तयारी थालिएको छ। मधेश प्रदेश सभा गठन भएको सात वर्ष पुग्न लागेको अवसरमा माघ २१ गते विभिन्न कार्यक्रम गरी सातौं वार्षिक उत्सव मनाउन लागिएको हो। वार्षिकोत्सवको तयारीलाई तिब्रता दिइएको छ।
वार्षिकोत्सवको तयारी हुदैँ गर्दा के मधेश प्रदेश र प्रदेशवासीले संघीयताको अनुभव गर्न सकेका छन्? प्रदेश संरचना निर्माण भएपछिको उपलब्धी के के हुन, अरु के गर्न बाँकी छ भन्ने प्रश्नहरुको उत्तर पाउन मुस्किल छ।
सांसद राम आशिष यादवले वर्तमान सरकारले गर्दा मधेश प्रदेशमा अहिले संघीयतामाथि प्रश्न उठिरहेको बताएका छन्।
उनले भने, ‘जसरी प्रदेशका गौरवका योजनाहरु अन्तरगतका कार्यक्रमहरुलाई सरकारले राम्रोसँग चलाउन सकेन भएको विश्वविद्यालयलाई पनि गुणस्तर बनाउन सकिरहेको छैन् । भनेपछि वर्तमान सरकारले गर्दा मधेश प्रदेशमा अहिले संघीयता माथि प्रश्न उठिरहेको छ। किनभने भएको ऐनलाई कार्यान्वयन गर्न त सक्नुपर्याे नि।’
अर्का सांसद भरत साहले संघीयतालाई व्यवस्थित गर्नको लागि ठूला दलहरु र उसका नेताहरु वेइमानी गरेको बताए।
‘संघीयतालाई व्यवस्थित गर्नको लागि ठूला दलहरु वेइमान छन् । उसका नेताहरु वेइमान छन्’ उनी भन्छन् ‘अझै पनि देशमा अर्को ठूलो महत्वपूर्ण आन्दोलन र परिवर्तन भएन भने महत्वपूर्ण अधिकारहरु दिने पक्षमा छैनन्।’
संघीयता आएको सात वर्ष पूरा भइसक्दा केही काम भएको छैन् भन्न नमिल्ने सांसद रुपा यादव बताउँछिन्। उनले समग्रमा काम भएको र बाँकी कामका लागि नीति नियम बन्दै गरेको पनि बताइन्।
‘संघीयता आएको सात वर्ष पूरा भइसक्यो। सात वर्षमा काम भएको छैन भन्ने पनि होइन तर जति हुनुपर्ने हो त्यो भन्दा कम भएको हो। यसमा कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा सरकारले पनि हेर्नुपर्ने हुन्छ । समग्रमा काम भएको छ । यसको लागि नीति नियम बन्दैछ, विस्तारै हुन्छ होला’ उनी भन्छिन्।
