• ट्रेण्डिङ्ग :
‘हामी सबैमा एकता भए बहुमत टाढा छैन’ :सभापति देउवा

‘हामी सबैमा एकता भए बहुमत टाढा छैन’ :सभापति देउवा


  • 3.9K
    SHARES
    • माघ २१, २०८१ सोमबार
    • १ बर्ष अघि
    • 6.1K Views

    ‘हामी सबैमा एकता भए बहुमत टाढा छैन’ :सभापति देउवा

    पोखरा, माघ २१ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान विश्वकै उत्कृष्ट भए तापनि संविधानको प्रयोगमा आएका केही कठिनाइलाई संशोधन गर्न आवश्यक भएको बताउनुभएको छ । 

    images

    नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवम् नेपाली कांग्रेस गण्डकी प्रदेशको व्यवस्थापनमा प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा आयोजित अभिमुखीकरण कार्यक्रमको सोमबार पोखरामा उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । 

    सभापति देउवाले वर्तमान संविधानमा राखिएको सङ्घीय लोकतान्त्रिक व्यवस्था उच्चतम व्यवस्था भएको प्रस्ट पार्दै समावेशी र समानुपातिक प्रणालीले सबै नागरिकका अधिकारलाई समेटेको बताउनुभयो । उहाँले सबै जातजाति, भाषाभाषी मिलेर बसेको समाजलाई एकताबद्ध गराई लैजान वर्तमान संविधान सफल भएको भन्दै हाम्रो संविधानलाई अन्य मुलुकका देशहरुले पनि अनुकरण गर्न थालेको बताउनुभयो । 

    सभापति देउवाले संविधानको प्रयोगमा आएका केही कठिनाइहरुलाई राजनीतिक दलहरुको सहमतिमा संशोधन गरी संविधानलाई संस्थागत गर्ने प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँले सङ्घीयताका बारेमा बोल्नुहुँदै प्रदेशलाई थप अधिकार प्रदान गरी बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले काठमाडौं केन्द्रित विकासले देशको सर्वाङ्गीण विकास नहुने भएकाले पनि कांग्रेसले सुरुवातदेखि नै सङ्घीयताका पक्षमा बोल्दै आएको स्पष्ट पार्नुभयो । 

    सभापति देउवाले वर्तमान संविधानले कुनै पनि दलको स्पष्ट बहुमत नआएकाले गठबन्धनको  सरकारको विकल्प नभएको बताउनुभयो । यसर्थ पनि संविधान संशोधन आवश्यक रहेको उहाँको भनाइ थियो । 

    नेपाली कांग्रेसका बारेमा बोल्दै नेता देउवाले बीपी, गणेशमान, किसुनजी, गिरिजाबाबु र सुशील कोइरालाजस्ता नेताहरुले हाम्रो काँधमा सुम्पिएको जिम्मेवारी पूरा गर्न पार्टीभित्र बृहत् एकता जरुरी रहेको बताउनुभयो । उहाँले जनताका सेवकका रुपमा नेताहरुले काम गर्न निर्देशन दिँदै आगामी निर्वाचनमा पार्टीलाई बहुमतमा लैजान आग्रह गर्नुभयो । उहाँले भन्नुभयो,“हामी सबैमा एकता रहिरहे बहुमत टाढा छैन । यसका लागि सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी पूरा गरौँ ।


    तेस्रो आँखा