रोल्पा । केहि समय अघि मात्र चितवनमा ट्राफिक प्रहरीले युवक कुटेको घटना सेलाउन नपाउदै फेरि रोल्पामा पनि प्रहरीले एक जना युवालाई निर्घात कुटपिट गरेको भिडिओ भाइरल बनेको छ ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका–२ चतुर्भुजमा चलिरहेको महोत्सवमा एक जना युवालाई प्रहरीले बक्सिङले हानेर भक्लक्कै ढालेको देखिन्छ । ति युवा ढलेपछि पनि फेरि प्रहरीले लट्ठी प्रहार गरेको भिडिओमा देखिन्छ । एक जना प्रहरीले निरन्तर लट्ठी प्रहार गर्न खोज्दा अर्का प्रहरीले रोकेको पनि भिडिओमा देखिन्छ । कुटपिट गर्ने प्रहरी हवल्दार उमान घर्ती भएको जनाइएको छ । यस्तै कुटाई खाने युवा सोही ठाउँका पदम भारती रहेको पनि बताइएको छ । कुटपिटको घटना सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीको आलोचना हुन थालेको छ । ति युवाले गल्ती गरेको भएपनि नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउनुपर्ने सुनिलस्मृति गाउँपालिका–२ का वडाध्यक्ष नेत्र गिरीले बताउनुभयो । ‘यो त अमानवीय घटना हो’ वडाध्यक्ष गिरीले भन्नुभयो ‘यस विषयमा हामीले प्रहरी र पीडित युवालाई भेटेर के गर्ने भन्ने निर्णयमा पुग्छौं ।’ यस्तै घटना गत महिना चितवनमा पनि भएको थियो । भिडिओ भाइरल बनेपछि त्यहाँ कुटपिट गर्ने प्रहरीलाई तत्काल कारबाही भएको थियो ।
यता जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरिक्षक भरत लामाले भने ति युवाले पहिले प्रहरीमाथि हातपात गरेको बताउनुभयो । ‘प्रहरी हवल्दार घाइते भएका छन्’ लामाले भन्नुभयो ‘यो विषयलाई भाइरल बनाउने कि एकआपसमा मिलाउने यसमा हामीले सोँच्नुपर्छ ।’
यो भिडिओ आइतवारको हो । सो दिन महोत्सवमा नायक पल शाह लगायतका कलाकारहरुको उपस्थितिले भिडभाड बढाएको थियो ।
