• ट्रेण्डिङ्ग :
भारतीय कलेजमा प्रकृतीको ‘आत्महत्या’: नेपाल र भारतमा के भइरहेको छ?

भारतीय कलेजमा प्रकृतीको ‘आत्महत्या’: नेपाल र भारतमा के भइरहेको छ?


  • 2.7K
    SHARES
    • फाल्गुण ६, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 4.1K Views

    भारतीय कलेजमा प्रकृतीको ‘आत्महत्या’: नेपाल र भारतमा के भइरहेको छ?

    काठमाडौं। भारतको ओडिसा राज्यस्थित एउटा कलेजमा नेपाली विद्यार्थी प्रकृती लम्सालको मृत्युपछि दुवै देश तनावग्रस्त भएका छन्। प्रकृतीलाई ‘न्याय माग्दै’ नेपालका विभिन्न विद्यार्थी संगठनहरूले सोमबारदेखि नै लगातार प्रदर्शन गर्दै आएका छन्। भारतका कतिपय विद्यार्थी संगठनहरूले पनि घटनाको निस्पक्ष छानबिन गर्न भनेका छन्। 

    images

    नयाँ दिल्लीस्थित नेपाली दूतावास र काठमाडौंस्थित भारतीय दूतावास दुबैले घटनाबारे आआफ्नो तर्फबाट प्रस्ट्याउने कोसिस गरेका छन्। 

    प्रकृतीको मृत्युपछि केआईआईटी कलेजमा उत्पन्न परिस्थितिका कारण कैयौ नेपाली घर फर्किएका छन्। कलेज प्रशासनको ठाडो आदेश र त्यहाँका कर्मचारीहरूको धम्कीपछि होस्टेल छोडेकामध्ये केही त्यहिँका रेल स्टेशनहरूमा अलपत्र थिए। केही होटेलहरूमा लुकेर बसेको नेपाली विद्यार्थीहरूले बताएका छन्। 

    दुबै देशको कुटनीतिक दबावपछि कलेज प्रशासनले नेपाली विद्यार्थीहरूसँग माफी मागेको छ र उनीहरूको सुरक्षा-सुव्यवस्थाप्रति प्रतिवद्धता जनाएको छ। त्यसपछि कलेजले आफै प्रहरी लिएर नेपाली विद्यार्थीलाई खोजीखोजी कलेज फर्काउने प्रयास गरिरहेको छ। 

    प्रकृतीको मृत्युपछि नेपाली विद्यार्थीले त्यहाँ प्रदर्शन गरेपछि स्थिति असामान्य बनेको थियो। त्यही क्रममा कलेज प्रशासनका केही कर्मचारीहरूले नेपालीप्रति नै अपशब्दहरू प्रयोग गर्दै गालीगलौजसमेत गरेका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। ती कर्मचारीमध्ये केहीले व्यक्तिगतरुपमा माफी मागेका छन्। 

    उक्त विश्वविद्यालयका उपकूलपति शरणजित सिंहले पनि कलेजका तर्फबाट माफी मागरेका छन्। सामाजिक सञ्जालमा विज्ञप्ति सार्वजनिक गर्दै उनले नेपाली विद्यार्थी तथा सिङ्गो नेपाली समाजलाई नै अपमानित हुनेगरी आफूहरूमध्ये ‘केही’ले गरेको व्यवहारप्रति खेद प्रकट गर्दै आफ्ना तर्फबाट क्षमा याचना गरेका छन्। 
    ‘हाम्रा कर्मचारीहरूले गरेका टिप्पणीहरू अत्यन्त गैरजिम्मेवारपूर्ण छन्’ उनले भनेका छन्। ती टिप्पणीहरूलाई सम्बन्धित कर्मचारीहरूको व्यक्तिगत टिप्पणीका रुपमा लिन र कलेज फर्किन उनले विद्यार्थीहरूलाई अपिल गरेका छन्। 

    यसै घटनामा दोषी देखिएका पाँच जना कर्मचारीलाई कलेजले निलम्बनसमेत गरेको छ। 

    केआइआइटीले मङ्गलबार विज्ञप्ति जारी गर्दै दुई जना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आइआरओ) का एक जना वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिएको छ। साथै दुई जना सुरक्षा कर्मचारीलाई बर्खास्त गरिएको विज्ञप्तिमा उल्लेख छ।
    ‘१६ फेब्रुअरीमा भएको घटनाप्रति केआइआइटी अधिकारीहरू र सम्पूर्ण कर्मचारीहरू गहिरो दुःख व्यक्त गर्दछन्। दुई सुरक्षा कर्मचारीलाई तुरुन्तै बर्खास्त गरिएको छ’ कलेजले भनेको छ ‘दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको छ।’ 

    भुवनेश्वर प्रहरीले प्रकृतीको मृत्युमा जिम्मेवार ठानिएका एकजना युवकलाई नियन्त्रणमा लिएको जनाएको छ। ती युवकको निरन्तरको दुर्व्यवहार सहन नसकेपछि प्रकृतीले आफ्नै छात्रवासमा आत्महत्या गरेकी थिइन्। प्रहरीले नेपाली विद्यार्थीको सुरक्षाका लागि कलेज प्रशासनसँग समन्वय गरिएको पनि दाबी गरिएको छ। 

    नेपालमा पनि प्रतिनिधिसभा तथा राष्ट्रियसभामा प्रकृतीको मृत्युको विषय चर्किएको छ। दुबै सदनमा सांसदहरूले उनको मृत्युपछि त्यसपछि विकसित घटनाहरूप्रति नेपाल सरकार उदासिन भएको भन्दै आलोचना गरेका छन्। राष्ट्रिय सभाका अध्यक्षले घटनाबारे तत्काल आफ्नो धारणा सार्वजनिक गर्न नेपाल सरकारलाई भनेका छन्।

    कलेजमा रहेका नेपाली विद्यार्थीहरूको सुरक्षामा चासो लिँदै नेपाल प्रहरीको एउटा टोली पनि कलेजमा पुगेको छ। दूताबासका प्रतिनिधिहरूले पनि कलेज प्रशासन तथा भारतका अधिकारीहरूसँग कुटनीतिक वार्ता, छलफल र निरन्तर समन्वय भइरहेको जनाएका छन्। 

    घटना के थियो?
    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी(केआईआईटी)मा लगभग ८०० नेपाली विद्यार्थी छन्। तीमध्ये केही भारतीय दूतावासको छात्रवृत्तिमा र केही आफ्नै पैसा तिरेर पढ्नेहरू छन्। 

    यिनै आठ सय विद्यार्थीमध्ये एक थिइन् बुटवलकी प्रकृती लम्साल। बि-टेक अध्ययन गरिरहेकी उनलाई लामो समयदेखि एकजना भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले दुर्व्यवहार गर्दै आएका थिए। उनले त्यसबारे आफ्ना साथीहरू र कलेज प्रशासनलाई पनि जानकारी गराएकी थिइन्। तर कलेज प्रशासनले खासै वास्ता गरेन। 

    त्यसपछि आइतबार उनको शब भेटियो। उनले आत्महत्या गरेको बताइएको छ। लगातारको दुर्व्यवहार सहन नसकेपछि उनले आत्महत्या गरेको नेपाली विद्यार्थीहरूको आरोप छ। यो घटनापछि नेपाली विद्यार्थी आन्दोलित भएका थिए। उनीहरूलाई भारतीय विद्यार्थी समूहहरूले दबाउने कोसिस गरे र केही झडपहरू पनि भए। त्यही बेला कलेज प्रशासनले सूचना जारी गरेर सबै नेपाली विद्यार्थीलाई कलेज छोड्न आदेश दिएको थियो। 

    त्यसपछि कति विद्यार्थी आफै निस्किए कतिलाई कलेज प्रशासनले सुरक्षाकर्मीहरू लगाइएर जबर्जस्ती रेल स्टेशनमा लगेर छोडिदिएको छ। कलेज प्रशासनका कर्मचारीहरूले नेपालीलाई अपमानजनक शब्दहरू प्रयोग गर्दै गाली गलौज गरेका थिए। त्यतिमात्रै होइन कलेजबाट निस्किएका नेपाली विद्यार्थीहरूमाथि भारतीयले कलेज बाहिर पनि दुर्व्यवहार गरेका थिए। 

    घटनालगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कुटनीतिकरुपमा बुझिरहेको बताएका थिए। प्रकृतीको मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि लगातार दुर्व्यवहार भइरहेका समाचारहरू ब्याप्त भइरहँदा प्रधानमन्त्री ओली भने दाङमा भएका विभिन्न कार्यक्रमहरूमा भ्याइनभ्याइ गरिरहेका थिए। 
     ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ। यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ’ उनले सामाजिक सञ्जालमा भनेका थिए। त्यसपछि यस घटनाबारे सरकारको औपचारिक भनाइ सार्वजनिक भएको छैन। 
     
    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पनि नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई मन्त्रालयले निरन्तर रुपमा ‘फलोअप’ गरिरहेको जानकारी दिएकी छन्। उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएकी हुन्।


    भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा आवश्यक पहल भइरहेको आज सामाजिक सञ्जाल ‘एक्स’ मार्फत परराष्ट्रमन्त्री देउवाले जनाएकी छिन्।

    ‘नेपाली राजदूतावास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुईजना वरिष्ठ अधिकारी विश्वविद्यालय पुग्नुभएको छ। मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टेलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु। यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेकै छ’ उनले लेखेकी छिन्। 

    घटना भएको जानकारी पाउनासाथ परराष्ट्र मन्त्रालयको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छभने नेपाली विद्यार्थीलाई दुव्र्यवहार गर्ने ‘स्टाफ’लाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचनामार्फत गराएको पनि उनको दाबी छ। 


    तेस्रो आँखा
    लेखकबाट थप