काठमाडौं, १२ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले झापालाई प्रतिक्रान्तिको खतरा रहेको क्षेत्रको रूपमा चिनाउँदै सावधानी अपनाउन आग्रह गर्नु भएकाे छ। हुलाकी मार्ग केन्द्रित जागरण अभियानको उद्घाटनका लागि झापा पुगेका उहाँले, पुराना कम्युनिस्ट नेताहरूलाई सम्मान गर्दै, समाजवादी क्रान्तिको पुनरुत्थान आवश्यक रहेको धारणा व्यक्त गर्नुभयाे ।
झापा विद्रोहका प्रमुख अभियन्ताहरू मध्येका एक, तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्दै, प्रचण्डले कम्युनिस्ट आन्दोलन पुँजीवादी मार्गतर्फ मोडिएको बताउनुभयाे । उहाँले झापालाई क्रान्तिको प्रतीकका रूपमा पुनः स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयाे, ‘क्रान्तिको धार छोड्नु हुँदैन । प्रतिक्रान्तिको खतराबाट देशलाई जोगाउनु हाम्रो दायित्व हो । नयाँ समाजवादी क्रान्ति र एकताका लागि गम्भीर रूपमा सोच्न आवश्यक छ ।’
कार्यक्रमका क्रममा, अध्यक्ष प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज व्यक्तित्वहरू हरि अधिकारी र वेदनिधि निरौलालाई सम्मान गर्दै, उहाँहरूको योगदानको उच्च मूल्यांकन गर्नुभएकाे छ । साथै, नेपालकै सबैभन्दा होचो भूभाग केचनकवलमा राष्ट्रिय झन्डा फहराउँदै, उहाँले यस क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयाे । नेपालको सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाहरूको संरक्षण तथा प्रवर्द्धनका लागि समेत उहाँले आह्वान गर्नुभयाे ।
