काठमाडौं, फागुन २० । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन र विकासका लागि सरकारले अध्यादेश ल्याएकाले त्यसलाई पास गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।
नेपाल दूर सञ्चार प्राधिकरणको २७ औं वार्षिकोत्सव कार्यक्रममा आज यहाँ सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो । देशको हितमा अध्यादेश आएकाले त्यसलाई सबैले सहयोग गर्नुपर्ने उहाँको आग्रह छ ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्नैपर्छ, सरकारले त्यो काम गरिरहेको छ । सरकारलाई सरोकारवाला सबैले सहयोग गर्नुपर्छ ।” संस्थानमा राजनीतिकरण व्याप्त रहेकाले संस्थानले प्रगति गर्न नसकिरहेको बताउँदै मन्त्री गुरुङले भन्नुभयो, “अति राजनीतिकरणका कारण सबैतिर द्वन्द्व र अराजकता छ । त्यसले आन्तरिक लोकतन्त्रलाई समेत समस्या पारिरहेको छ ।”
मुलुकबाट राजतन्त्र र समान्तवाद अन्त्य भए पनि संरचना, ऐन नियम सबै पुरानै भएकाले त्यसको छायाँ अहिलेसम्म कायमै रहेको उहाँले बताउनुभयो । नयाँ ऐन र विनियमावली बनाएर संस्थानलाई सबल बनाउनुपर्छ उहाँले भन्नुभयो । इमानपूर्वक सबैले काम गरे देश बनाउन कठिन नरहेको उहाँको भनाइ छ ।
सबै क्षेत्रमा अहिले धेरै राजनीतिकरणले गाँजेकाले विकृतिहरु निम्तिरहेको भन्दै मन्त्री गुरुङले भन्नुभयो, “आफूले सम्हालेको जिम्मेवारीलाई इमान्दारितापूर्वक पालना गरे मात्र समस्या समाधान हुन्छ । पदको दुरुपयोग गर्ने काम कसैले गर्नुहुँदैन ।”
नेपाल दूर सञ्चार प्राधिकरणलाई राम्रो बनाउन पदाधिकारी तथा कर्मचारीले प्रयत्न राम्रो गरिरहेको भए पनि अझै पर्याप्त नभएको उहाँले सुझाव दिनुभयो । प्राधिकरणलाई अझ सबल र प्रतिस्पर्धी बनाउनेगरी काम गर्न उहाँले पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिनुभयो ।
संस्थानमा विनियमावलीको राज चलिरहेको भन्नुहुँदै मन्त्री गुरुङले भन्नुभयो, “ऐन अनुसार विनियमावली बन्नुपर्छ । ज्यानले पुच्छर हल्लाउने होकि पुच्छरले ज्यान हल्लाउने हो रु ज्यानले पुच्छर हल्लाउने हो नि रु” कानुनसँग बाझेर विनियमावली बनाउने छुट नरहेको उहाँले बताउनुभयो । ऐन प्रक्रियाअनुसार काम गर्न उहाँले आफू मातहतका निकायका पदाधिकारीलाई आग्रह गर्नुभयो ।
असल शासनका लागि असल जनशक्ति अनिवार्य रहेको चर्चा गर्नुहुँदै मन्त्री गुरुङले भन्नुभयो, “असल शासनका लागि असल मन्त्री, असल पदाधिकारी, असल कर्मचारी, असल र इमान्दार जनशक्तिको खाँचो पर्छ ।” निलअर्मस्ट्रङले चन्द्रमामा पाइला राखेपछि सानो प्रयास भनेको स्मरण गर्नुहुँदै मन्त्री गुरुङले अहिले चन्द्रमामा मानववस्ती बसाउने प्रयास जारी छ, निलअर्मस्ट्रङले त्यो प्रयास नगरेको भए सम्भव थियो रु उहाँले जिज्ञासा गर्नुभयो ।
अनावश्यक विदेश भ्रमण रोक्न आवश्यक रहेको चर्चा गर्नुहुँदै मन्त्री गुरुङले विदेश जाने लर्कोले मुलुकलाई उपलब्धि केही नहुने बताउनुभयो । अनावश्यक खर्चभारले देशको अर्थतन्त्र थला पर्ने भन्दै उहाँले अनावश्यक विदेश भ्रमणमा नलाग्न उहाँले मातहतका निकायका पदाधिकारीलाई निर्देशन दिनुभयो ।
