प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद रोशन कार्कीले सरकारले उक्त घटनामा विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाँकेको जयन्दु बालसुधार गृहमा भएको झडपमा ४९ जना बालबालिका घाइते भएका छन्, त्यहाँ आगलागी पनि भएको छ, विगतमा संसद्को महिला तथा सामाजिक समितिले सो केन्द्रको अनुगमन गरी सरकारलाई प्रतिवेदन पनि बुझाएको थियो, त्यसमा धेरै विषय उठान गरिएको थियो ।” उहाँले केन्द्रमा स्वास्थ्यको मापदण्ड पूरा गरेको र लागूपदार्थको प्रयोग हुने गरेको समेत उल्लेख गर्दै त्यससम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सूर्यप्रसाद ढकालले विसं १९८० मा नेपालमा कारागार स्थापना भएको उल्लेख गर्नुहुँदै हाल देशभरका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको बताउनुभयो । सतहत्तर जिल्लामध्ये ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा १६ हजार कैदीबन्दी अट्ने क्षमता भए पनि हाल ३० हजारभन्दा बढी कैदीबन्दी राखिएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले महिलासँगै पाँच वर्षमुनिका ४२ जना आश्रित बालबालिका कारागारमा रहेको बताउनुभयो । उहाँले तीस हजार कैदीका लागि मासिक रु १७ करोडभन्दा बढी खर्च हुने गरेको समेत उल्लेख गर्नुभयो । सांसद ढकालले बालसुधार गृहमा भएको झडपमा ४९ जना घाइते भएकाले १८ वर्षभन्दा माथिकालाई बालसुधार गृहमा राख्नु नहुनेमा जोड दिनुभयो ।
सांसद दीपा शर्माले १० देखि ३० वर्षसम्मकालाई एकै ठाउँमा राख्दा बालसुधार गृहमा गत शुक्रबार राति घटना घटेको बताउनुभयो । उक्त समस्या समाधानका लागि कानुनमा सुधार जरुरी रहेको उहाँको भनाइ थियो । उहाँले १८ वर्ष माथिकालाई सुधारगृहबाट कारागारमा पठाउन उहाँले माग गर्नुभयो ।
सांसद शान्ति श्रेष्ठले उक्त बालसुधार केन्द्रमा विद्यार्थीले घर जलाएको बताउनुभयो । सुधारगृहमा बालबालिकामात्र राख्नुपर्ने उल्लेख गर्दै उहाँले १८ वर्षभन्दा बढी उमेरका बालबालिकासँग सुधार गृहमा राख्न नहुने बताउनुभयो । उहाँले सुधारगृहमा रहेका बालबालिका लागू औषध लिन बाहिर गएको खबर पनि सार्वजनिक भएको समेत उल्लेख गर्नुभयो ।
