नेपाली फुटबलको सुदृढीकरण केवल व्यक्ति परिवर्तनले मात्र पुग्दैन, यहाँ धेरै चिज परिवर्तन गर्नुपर्ने देखिन्छ। हामी नीति नियम र व्यवस्थाको कुरा गर्छौ तर त्यो निर्माण गर्ने स्थानमा गलत व्यक्तिलाई पुऱ्याउँदा समस्याहरू उत्पन्न हुने हो। हिजो यो व्यक्ति खराब छ भनेर आफू अगाडि आउँदा आफूले पनि त्यस्तै स्थिति बनाउनु त भएन नि के सधैँ हामीले फरक व्यक्तिलाई चार वर्ष परीक्षणको लागि मात्र एन्फाको अध्यक्ष छान्नु पर्ने हो ?
कोभिडको कारणले गर्दा नेपाली फुटबलमा मात्र होइन धेरै क्षेत्रमा असर परेको छ तर हामीलाई कति सजिलो बाहना भइदियो। हुनुपर्ने लिग रोकिए एन्फाको क्यालेन्डर पनि फेरियो तर स्थिति सामान्य हुँदा पनि तपाईंहरू ले के गर्नु भयो भन्ने हेक्का कसैलाई छैन र ? बाहिर बसेर एन्फाको कमीकमजोरी औँल्याउन सजिलो त पक्कै हुन्छ मैले बाहिर बाट आलोचना मात्र गर्नेहरुलाई के अनुरोध गर्न चाहन्छु भने तपाईंको आलोचनाको सम्मान छ तर समाधान पनि त तपाईंले निकाल्न सक्नु हुन्छ नि सम्बन्धित क्लब, जिल्ला ,प्रदेश कुनै न कुनै स्थानबाट समाधानका बाटोहरु खोज्ने प्रयास गरौँ।
म आलोचना मात्र गर्न चाहँदैन। मैले एन्फा बाहिर रहेर पनि हेरेको छु भित्र बसेर बुझ्ने अवसर पनि पाएको छु। छ समस्या। बरु मुख्य समस्या के हो ? समस्या व्यक्ति हो अथवा प्रवृत्ति यसको समाधान कसरी गर्ने त्यसमा छलफल गर्न सक्छौँ। एन्फामा समस्या एउटामात्रै पनि छैन धेरै छन हिजो अझै धेरै थिए होला अहिले पहिले भन्दा केही कम भए होलान्। तर प्रवृत्ति उस्तै लाग्छ। अब के गर्ने राष्ट्रिय खेलकुद परिषद ,एन्फा र क्लबहरू मिलेर नीति बनाउनु पर्यो। निश्चित योजानहरू ल्याउनु पर्यो। काठमाडौं खाल्डोका मात्र ए डिभिजन क्लबलाई थुपारेर बजेट बनाउने बाहिरी जिल्लाका क्लबहरू जिल्ला फुटबल संघ, प्रदेश फुटबल संघलाई चुनावमा भोट हाल्नको लागि मात्र प्रयोग गर्ने की निश्चित नीति निर्माण गरेर समानुपातिक तरिकाले निकास र विकास गर्ने।
सहिद स्मारक ए डिभिजन लिग सधैँ राजधानीमै हुन्थ्यो यसपटक पोखरामा केही खेलहरू भए क्लब पनि सबै राजधानीमा मात्र छन्। अब विस्तारै मोफसलमा पनि ल्याउने की समग्र नेपाल नै काठमाडौं मात्र हो, भन्ने सोच राख्ने भौतिक संरचनाको अभाव होला तर सरकारसँग सहकार्य गरेर खेलकुद परिषदसँग समन्वय गरेर स्तर उन्नति गर्नु सक्नुपर्यो नयाँ निर्माण गर्नुपर्यो कहिले पाउछौ त हामीले झापामा ए डिभिजन लिग हेर्न देशका अरु ठुल्ठुला शहरहरु धरान, विराटनगर, चितवन, बुटवल, दाङ, नेपालगन्ज, सुर्खेत, धनगढी के यि ठाउँमा फुटबल नै नहुने हो र ? रंगशाला नभएको पनि होइन स्थानीय प्रतियोगिता बाहेक एन्फाका कार्यक्रममा समावेश राष्ट्रिय लिगहरु कहिले हेर्न पाउछौ ? सधैँ काठमाडौंमा र काठमाडौं कै मात्र क्लबहरू ए डिभिजन लिग खेल्ने हो ।
भने लिगको नाम परिवर्तन गरेर काठमाडौं लिग बनाए भइहाल्यो। फेरि विभागिय टिम बाहेक अरु क्लबहरुको अभ्यास गर्ने मैदान पनि छैन। फुटबल विकास मात्र बोलिमा होइन व्यबहारमा लागु हुनु पर्यो। नयाँ भौतिक संरचनाहरू निर्माण गर्नुपर्यो सधैँ भष्टचारको समाचारले मात्र चर्चा पाउने हाम्रो एन्फा अब सच्चिन आवश्यक छ।चुनावको मिति आफै घोषणा गरेर यो मिलेन छ त्यो मिलेन छ भन्दै केटाकेटी खेले जस्तो गरेर अनिश्चितकालीन मिति सार्ने जिल्ला जिल्लामा आफ्ना निकट मान्छेसँग बार्गेनिङ गर्ने विशेष साधारणसभा हप्तै पिच्छे मिति सार्दै लैजाने अब कसरी विश्वास गर्ने चुनाव हुन्छ कि हुदैन जुन नेतृत्वलाई असक्षम भनेर चेन्ज एन्फा भन्दै ठुला ठुला नारा लगाएर आफु नेतृत्वमा जाने अनि आफू पनि त्यस्तै गर्ने भए किन आवश्यक थियो नेतृत्व परिवर्तन गर्न। आशा राखौं एन्फाले विशेष साधारणसभा छिटै बोलाओस र जिल्ला प्रदेश र संघको चुनाव समयमै बनाएर दबाब अभाव र प्रभाव बिना निष्पक्ष रुपले असल नेतृत्व चुनिउन।
लेखक, समिर ओलि लुम्बिनी प्रदेश फुटबल संघ (एन्फा) का सह–महासचिव हुन् ।
समिर ओली
