तुलसीपुर, ३ कात्तिक । नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालको अगुवाईमा पार्टीका शहिदहरुको सम्मानमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२, शितलपुर घाटमा महत्वपूर्ण संरचनाहरुको निर्माण सम्पन्न भएको छ।
करीब ५ लाख रुपैयाँको अनुमानित लागतमा शहिद मोक्ष मार्ग गृह (मलामी विश्राम प्रतिक्षालय), तुलसी मन्दिर तथा शहिद शव विश्राम चौतारी र पिपल संरक्षणका निम्ति चौतारी निर्माण गरिएको हो।
यी संरचना निर्माणमा सहयोगी दाता राजेश डाँगी लगायत विभिन्न व्यक्तिहरुले आर्थिक तथा भौतिक सहयोग गरी सहयोगी हात अगाडि बढाएका थिए।
नगर सभापति हमालले शहिदहरुको योगदानलाई चिरस्थायी राख्न र मलामीहरुलाई सुविधा प्रदान गर्नका लागि यी संरचनाहरुको निर्माण गरिएको बताउनुभयो। पार्टीका शहिदहरुको स्मृतिमा निर्माण गरिएको सहिद मोक्ष मार्ग गृह र अन्य संरचनाहरुले शितलपुर घाट क्षेत्रको व्यवस्थापन र सौन्दर्यमा थप टेवा पुगेको छ ।
