सल्यान, ७ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यान जिल्लामा तिन हजार १ सय ७९ नयाँ मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय सल्यानकाका सुचना अधिकारी तेजेन्द्र कुमार चन्द्रका अनुसार जम्मा थपिएका मतदातामा बायाेम्याट्रिक दिन कार्यालयमा आउने पुरुष ९ सय १६ र महिला ५ सय २३ जना रहेका छन् । उहाँका अनुसार राष्ट्रिय परिचय पत्र मार्फत १ हजार ७ सय ४० जनाले नामावली दर्ता गराएका छन ।
मतदाता नामावलीमा नाम दर्ता गर्नेमा बाह्य जिल्लाका नागरिकहरु पनि आउने गरेको सुचना अधिकारी तेजेन्द्र कुमार चन्द्रले जानकारी दिनुभयो ।उहाँका अनुसार जिल्लामा नयाँ मतदाता थपिनुअघिको कुल मतदाताको सङ्ख्या एक लाख ५७ हजार बढि रहेका थिए ।
सल्यानमा जम्मा मतदाताकाे संख्या एक लाख ६१ हजार ७ सय ९ रहेका छन । मतदाता नामावली दर्ताका लागि १ लाख ६५ हजार ६७ जनाले फारम भरेका थिए।
निर्वाचन कार्यालयले असोजदेखि मतदाता नामावली सङ्कलन गर्दै आएको छ । मतदाता नामावली सङ्कलनको म्याद कात्तिक मसान्तसम्म रहे पनि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद बढाएर मङ्सिर ५ गतेसम्मका लागि थप गरेको थियोे ।
आयोगले नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा साविक प्रयोगमा रहेको प्रि–रजिष्ट्रेसन सिस्टममार्फत आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औँठा छाप) दिएर सेवा लिन सकिने व्यवस्था गरिएको थियो । याे व्यवस्थाले नामावली बनाउने कार्यमा सहभागी उत्साहजनक देखिएको थियो ।
जिल्लामा ११७ मतदातनस्थल रहेका छन् भने २०२ मतदान केन्द्र छन् । मतदानस्थल र मतदान केन्द्र थप हुने सम्भावना भने नरहेको जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्र कुमार चन्द्रले बताउनुभयो ।
रुपा थापा
