• ट्रेण्डिङ्ग :
माहावाणिज्य दूतावास र सञ्चारकर्मीबीच छलफल कार्यक्रम सम्पन्न

माहावाणिज्य दूतावास र सञ्चारकर्मीबीच छलफल कार्यक्रम सम्पन्न


  • 5.0K
    SHARES
    • पौष १६, २०८२ बुधबार
    • ८ महिना अघि
    • 7.7K Views

    माहावाणिज्य दूतावास र सञ्चारकर्मीबीच छलफल कार्यक्रम सम्पन्न

     डालास, टेक्सास

    images

    नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा टेक्सासको डालासमा केही महिनादेखि सञ्चालनमा आएको नेपालको माहावाणिज्य दूतावास र टेक्सासमा सक्रिय सञ्चारकर्मीहरूबीच सोमबार कन्सुलर सेवा तथा सञ्चारकर्मीको भूमिकाबारे छलफल कार्यक्रम सम्पन्न भएको छ। छलफलका क्रममा उपस्थित सञ्चारकर्मीहरूले परदेशमा रहेका नेपालीहरूले भोग्दै आएका समस्या, तिनका प्राथमिकता तथा समाधानका उपायबारे आफ्ना अनुभव र सुझावहरू प्रस्तुत गरेका थिए। टेक्सासमा माहावाणिज्य दूतावास सञ्चालनमा आएपछि सञ्चारकर्मीहरूसँग गरिएको यो पहिलो सामूहिक छलफल कार्यक्रम हो।

    E.jpeg

     

    AA.jpeg

     

    BB.jpeg

     

    कार्यक्रममा दूतावासका चार जना कर्मचारीहरूको उपस्थिति रहेको थियो। सञ्चारकर्मीहरूको सुझाव तथा जिज्ञासा सुनेपछि दूतावासका अधिकारीहरूले कार्यालयबाट प्रदान गरिँदै आएका सेवाहरू र प्राथमिकताबारे जानकारी गराएका थिए। कार्यक्रममा बोल्दै कन्सुल जनरल (माहावाणिज्य दूत) सुरेश अधिकारीले दूतावासमा सेवा लिन आउने सबै सेवाग्राहीलाई सकेसम्म छिटो, छरितो र प्रभावकारी सेवा प्रदान गर्ने प्रयास भइरहेको बताए। कानुनी रूपमा प्रक्रिया पूरा भएका सबै काम एकैपटक सम्पन्न गरी सेवाग्राहीलाई सोही कामका लागि पुनः आउनु नपर्ने व्यवस्था गरिएको उनले स्पष्ट पारे। त्यसैगरी, दूतावासकी सहायक वाणिज्य दूत धना कुमारी जोशीले प्राथमिकताका आधारमा सेवाहरूलाई अझ प्रभावकारी बनाउन सबै पक्षको सुझाव आवश्यक रहेको बताइन्। दूतावासका प्रवक्ता प्रविन भट्टराईले हाल नौ जना कर्मचारीले दूतावासमा सेवा प्रदान गरिरहेको जानकारी दिँदै, सन् २०२५ अक्टोबर १० गतेदेखि सेवा सुरु गरिएको र डिसेम्बरको अन्तिम सातासम्म ६९२ वटा राहदानी (पासपोर्ट) सहित जम्मा १,२६० जनालाई सेवा उपलब्ध गराइएको बताए। हाल दूतावासबाट पासपोर्ट, कन्सुलर एटेस्टेसन, पावर अफ अटर्नी, ट्राभल डकुमेन्ट, एनआरएन कार्ड तथा भिसा सेवा प्रदान गरिँदै आएको उनले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पूर्व सभापति हरिहर विरहीले विदेशमा रहेर पनि पत्रकारितामार्फत मातृभूमि र नेपाली समाजलाई सही दिशामा डोर्याउन सञ्चारकर्मीहरूले पुर्याएको योगदानको प्रशंसा गरे। उनले टेक्सासको डालासमा माहावाणिज्य दूतावास स्थापना गर्न यहाँका पत्रकारहरूले उठाएको आवाजको स्मरण गर्दै लोकतन्त्रमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे। कार्यक्रम नेजाका अध्यक्ष सुरज भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो। समापन मन्तव्यका क्रममा भण्डारीले उपस्थित सबैलाई नयाँ वर्ष २०२६ को शुभकामना दिँदै, दूतावासको सेवाले टेक्सासवासी नेपाली समुदायलाई निकै हर्षित बनाएको बताए।

    F.jpeg

     

    G.jpeg

  • सम्बन्धित विषय:

  • # माहावाणिज्य दूतावास

  • नारायण भण्डारी
    लेखकबाट थप