काठमाडाैं,१४ चैत्र । आगामी स्थानीय तहको निर्वाचनका लागी करिव २२ हजार मतदान केन्द्र तय गरिएको छ । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचका लागी नेपाल निर्वाचन आयोगले २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकेको हो । निर्वाचनका पूर्व तयारी अन्र्तगत आयोगले बजेट व्यवस्थापन, सुरक्षा व्यवस्था, मदपत्र लगायत निर्वाचन सामग्री छपाइ, मदतादाहरुको सूचि प्रकाशन, मतदान केन्द्र तथा मतदान स्थल तोक्ने काम सकिसकेको जनाएको छ ।
यसपटकको निर्वाचनमा १० हजार ७ सय ५६ मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र रहने आयोगले जनाएको छ । त्यस्तै सुरक्षा व्यवस्थाका लागी एक लाख म्यादी प्रहरी भर्ना प्रकृयामा रहेको छ । निर्वाचन पर्यवेक्षणका लागि आयोगले राष्ट्रिय संस्थाहरुलाई आव्रहान समेत गरिसकेको छ । अर्थ मन्त्रालयले आवश्यक बजेट समेत विनियोजन गरिसकेको छ । निर्वाचन आयोगले आफ्ना तयारीहरु युद्धस्तरमा गरिरहदा राजनीतिक दलहरुले पनि आफ्नो संगठन सुदृढीकरणका अभियान लिएर गाउ केन्द्रीत भएका छन् ।
यो निर्वाचनमा सबैभन्दा बढी मतदान केन्द्र मधेस प्रदेशमा २ हजार १ सय ६३ र सबैभन्दा कम कर्णाली प्रदेशमा ९ सय ७ वटा छन् । आयोगले निर्वाचन प्रयोजनका लागि छनोट भएका मुख्य निर्वाचन अधिकृत ७७ जना र निर्वाचन अधिकृत ६ सय ७६ जनाको नाम पनि सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्न पाउने छन् ।
जसमा ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला तथा अन्य १८३ मतदाता कायम गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगका अनुसार सवैभन्दा बढी मतदाता मोरङ रहेको छ भने सबै भन्दा कम मनाङ, मुस्ताङ र डोल्पा छन् । मोरङमा सात लाख १५ हजार २२३ मतदाता छन् । सबैभन्दा कम ६ हजार ४१६ मनाङमा मतदाता छन् । धेरै मतदाता हुने जिल्लाहरुमा मोरङ, झापा र काठमाडौं रहेका छन् ।
मतदाता नामावलीमा नाम समावेश भएर आगामी वैशाख २९ गते १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने यसपटक नयाँ व्यवस्था गरिएको छ । उक्त निर्वाचनका लागि १० हजार ७ सय ५६ मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र कायम गरिएको आयोगले जनाएको छ । आयोगले यस अघि नै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । निर्वाचन कार्यतालिका अनुसार दलहरु आफ्नो तयारीमा लागिसकेका छन् ।
