अस्टिन / ग्रेटर अस्टिन नेपाली समाज(GANS) मा नयाँ नेतृत्व चयन भएको छ। ग्रेटर अस्टिन नेपाली समाज टेक्सासको राजधानी अस्टिन तथा आसपास क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको साझा सामाजिक तथा सांस्कृतिक संस्था हो। यस संस्थालाई अंग्रेजीमा GANS भनेर चिनिन्छ। यहि मे २४ मा संस्थाको सभाहलमा सम्पन्न निर्वाचनबाट ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।
निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा पदम ठकुराठी ४ सय ७५ मत प्राप्त गरी विजयी हुनुभएको छ। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा अशोक कुमार शाही ४ सय २१ मत, महिला उपाध्यक्षमा सपना राउत ४ सय २७ मत, उपाध्यक्षमा धिरेन्द्र कुमार यादव ४ सय १७ मत, महासचिवमा सूर्य कार्की ४ सय ४५ मत, सचिवमा प्रिन्स भट्ट ४१५ मत तथा कोषाध्यक्षमा नारायण प्रसाद रिजाल ४ सय ३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। कार्यसमिति सदस्यहरूमा दीपक हुमागाईं ४ सय २२ मत, एलिजा थापा पौडेल ४ सय १४ मत, विनाम आचार्य ४ सय १३ मत तथा प्रदीप कुमार भडेल ४ सय मत प्राप्त गरी विजयी हुनुभएको छ।
करिब १,१ सय साधारण सदस्य रहेको यस संस्थाको निर्वाचनमा करिब ९ सय सदस्यले मतदान गरेका थिए। संस्थाको विधानअनुसार कार्यसमितिले थप ६ जना सदस्य मनोनयन गर्न सक्ने व्यवस्था रहेको छ। अस्टिन आसपासका १९ वटा काउन्टीमा बसोबास गर्ने नेपालीहरूलाई संगठित गर्दै सन् २०१३ मा स्थापना भएको ग्रेटर अस्टिन नेपाली समाजले आफ्नो नेतृत्व चयनका लागि पहिलो पटक खुला प्रतिस्पर्धामार्फत निर्वाचन सम्पन्न गरेको हो। सोही अवसरमा GANS अन्तर्गत रहेको Pashupatinath Temple Board of Trustees को पनि निर्वाचन गरिएको थियो।
आठ सदस्यीय बोर्ड अफ ट्रस्टीको प्रमुखमा देवराज न्यौपाने तथा उपप्रमुखमा निरोज मानन्धर निर्विरोध चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूका लागि भएको निर्वाचनमा टिकामाया गुरुङ, सूर्य नारायण शाह, सुरज अधिकारी, वर्षा गौतम, हर्ष बहादुर नकर्मी तथा रोशन गोसाईं चयन हुनुभएको छ।
संस्थाको छैटौँ अधिवेशन आगामी मे ३१ आइतबार आयोजना गरिने कार्यक्रम रहेको छ। उक्त अधिवेशनमा निर्वाचित सबै पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ। सोही दिन हुने शपथ ग्रहणपछि नयाँ कार्यसमितिले औपचारिक रूपमा कार्यभार सम्हाल्नेछ।
नारायण भण्डारी
