काठमाडाैं,१६ चैत्र । नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर उठ्ने तयारीका विषयमा छलफल भइरहेको बताएका छन् । नेपाल प्रहरीका पूर्वडिआइजी समेत रहेका खरेलले यस विषयमा पार्टीभित्र छलफल भइरहेको बताएका छन् ।
‘नगरपालिकाको समृद्धि शुशासन र जनपक्षिय विकासका लागि पार्टीको तर्फबाट मेयरको उम्मेदवारी दिनेकी भन्ने छलफल भइरहेको छ’, उनले तेस्रो आँखालाई बताए । ‘पार्टी भित्र र बाहिरका साथिभाइ सुभचिन्तकहरू समेतको सरसल्लाह बमोजिम निर्णय गरिनेछ’, खरेलले भने,‘चुनाव उठ्दा नेपाल सुशासन पार्टीबाटै उठ्छु, त्यस विषयमा छलफल भैरहेकाले केही दिनमै निर्णय गरिने छ ।’
भ्रष्टाचारविरोधी अभियानलाई पार्टीमा रूपान्तरण गरेका खरेल प्रहरीमा सेलिब्रिटी छवि बनाएका अभियन्ता हुन् । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा काठमाडौंको मेयर उठ्नेबारेमा छलफल भैरहेको र औपचारिक निर्णय गर्न बाँकी रहेको उनले बताए । खरेलले गत पुसमा नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए । त्यसयता उनी सो पार्टीको संगठन विस्तारमा लागेका छन् ।
उनले २०७४ सालमा नेपाल प्रहरीबाट राजीनामा दिएका थिए । सरकारले अर्का डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि राजीनामा दिएर खरेल नेपाल सुशासन अभियानमा क्रियाशील भएका थिए । महानगरको मेयर भएको खण्डमा काठमाडौंबासी नागरिकको पक्षमा विकास र सुशासनको प्रत्याभुति गराउने उनले दावी गरे ।
