• ट्रेण्डिङ्ग :
आहा ! श्रीमञ्ज्याङ लामागाउँ

आहा ! श्रीमञ्ज्याङ लामागाउँ


  • 1.4K
    SHARES
    • जेठ २६, २०८३ मंगलबार
    • ३ महिना अघि
    • 2.1K Views

    आहा ! श्रीमञ्ज्याङ लामागाउँ

    श्रीमञ्ज्याङ (दोर्दी),  जेठ २६ गते ।  लमजुङको दोर्दी गाउँपालिका–३ स्थित श्रीमञ्ज्याङ लामागाउँ प्रकृति, संस्कृतिसँगै धार्मिक आस्था र विश्वासको अनुपम सङ्गमजस्तै बनेको छ ।

    images

     

    परम्परागत रुपमा सजिएका गाउँको प्राचीन मौलिकता झल्काउने किसिमका घरसँगै सफा चोक तथा बाटाहरू ढुङ्गाले छपक्क छापिएका छन् । पर्यटकीय राजधानी पोखराबाट डुम्रे, मध्यनेपाल, भोर्लेटार, सुन्दबजार, भोटे ओढार हुँदै बेलघारी पुल तरेर लामाबगर, थापा खेत हुँदै आइपुगिने यो गाउँ पोखराबाट करिब चार घण्टामा पुग्न सकिन्छ । 

     

    विशेषतः बौद्ध धर्मावलम्बीहरूका दुईवटा गुम्बासँगै चारवटा छोर्तेनले यहाँको महिमा र गरिमालाई अझै उँचो बनाएको म्हाँजा नासो तमुु समाजका अध्यक्ष इन्द्रजित गुरुङले बताउनुुभयो । गाउँको प्राकृतिक सुन्दरतासँगै यहाँको ऐतिहासिक एवं धार्मिक महत्वलाई पर्यटनसँग जोड्का लागि पछिल्लो समयमा आफूहरूले पहल थालेकोे उहाँले बताउनुुभयो ।

     

    गाउँ पर्यटनका माध्यमबाट समृद्धि खोज्नकै लागि यहाँका १२ वटा घरमा घरवास समेत सञ्चालन भैरहेको उहाँले जानकारी दिनुुभयो । “हामीले २०७६ सालमा पहिलोपटक गाउँमा सातवटा घरबाट घरवास सुरु गरेका हौँ”, उहाँले भन्नुुभयो, “हाल यहाँका १२ वटा घरमा घरवास सञ्चालन भइरहेको छ । पर्यटकको आगमन पनि विस्तारै बढ्दै गएको छ ।”

     

    पर्यटकको आगमन भएका अवस्थामा हरेक दिन ६० जनासम्म पर्यटक राख्न सकिने उहाँले जानकारी दिनुुभयो । पर्यटकीय रुपमा धेरै सम्भावना भएर पनि ओझेलमा परिरहेको यस गाउँको पर्यटकीय विकासका माध्यमबाट पर्यटकहरू भित्र्याउने लक्ष्य राखिएको दोर्दी गाउँपालिका–३ का वडाध्यक्ष कृष्णबहादुुर गुुरुङले बताउनुुभयो ।

     

    गाउँमा आइपुग्नका लागि प्रमुख समस्याका रुपमा बाटो भएको बताउँदै उहाँले यहाँको लामा बगरदेखि थापाखेत, लक्ष्मी मावि हुँदै लामागाउँसम्मको आठ किलोमिटर बाटो तत्काल बनाउनुुपर्ने देखिएको बताउनुुभयो ।

    हाडीखोलाबाट लामा बगर हुँदै गाउँपालिकाको कार्यालयसम्म आउने बाटो कालोपत्रे हुने क्रममा रहेको उहाँले बताउनुुभयो । यस गाउँलाई अन्नपूर्ण चक्रीय पदमार्गसँगै मनास्लुु पदमार्गसँग जोड्न सकिने ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुुभयो ।

     

    गाउँको पर्यटकीय सम्भावनालाई उजागर गर्नकै लागि यस वर्षको ७६ औँ अन्नपूर्ण आरोहण दिवस यही गाउँमा मनाइएको उहाँले बताउनुुभयो । विभिन्न कारणले पदमार्गहरू हराइरहेका अवस्थामा सरकारले अघि सारेको दोर्दी पदमार्ग उपयुक्त विकल्प हुनसक्ने बताउँदै उहाँले यस पदमार्गलाई ‘क्याम्पिङ ट्रेल’का रुपमा पनि विकास गर्न सकिने धारणा राख्नुुभयो ।

     

    पछिल्ला समयमा नौथर सेराबाट श्रीमञ्ज्याङ, जोर्ने, इलमपोखरी, लिपेलेक र दाम्राङ हुँदै पुनः नौथर सेरा पुग्ने पाँचदिने पदमार्ग दोर्दी गाउँपालिकाको सहयोगमा टान गण्डकी प्रदेशले प्रवद्र्धन अघि बढाएको छ ।

     

    त्यस्तै लिपेलेकबाट दाम्राङ, नोटाचे, उखण्ड, मेमेपोखरी, कोम्रोडाँडा र बाह्रपोखरी हुँदै हिलेटक्सार पुग्ने १० दिने पदमार्ग तथा पिसहिल हुँदै भुलभुले निस्कने आठदिने पदमार्ग पनि पहिचान गरिएको उहाँले बताउनुुभयो ।

     

    यसैगरी गोरखाको बारपाक–सुलिकोट, अजिरकोट, दूधपोखरी, दोर्दी र ठुलागी हुँदै लमजुङको घेर्मुसम्म जोडिने नयाँ पदमार्ग केन्द्रीय टानको सक्रियतामा पहिचान गरिएको छ । 

    सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुई लासेनालले विश्वमै आठ हजार मिटरभन्दा अग्ला हिमालमध्येको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको दिनका रुपमा अन्नपूर्ण आरोहण दिवस मनाउने गरिन्छ । यस वर्ष विभिन्न कार्यक्रमका साथ यही गाउँमा अन्नपूर्ण आरोहण दिवस मनाइएको अध्यक्ष आचार्यले जानकारी दिनुुभयो ।

     

    अन्नपूर्ण प्रथमको सफल आरोहण गरेपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण भएका कारण अन्नपूर्ण हिमाललाई आरोहणको जेठो हिमालका रुपमा लिने गरिन्छ ।

     

    धेरै पर्यटकीय सम्भावना भएर पनि उजागर हुन नसकेका अवस्थामा बसाइँसराइको चपेटामा परिरहेको यस गाउँमा पर्यटनका माध्यमबाट पुनः गाउँ भरिभराउ गराउने लक्ष्य राखिएको छ । 

     

    गाउँको सिरानमा पर्यटकलाई लक्षित गरी भ्युु टावर निर्माण गरिएको मौलिकोट अर्गानिक एग्रो फर्मका व्यवस्थापक रञ्जित चौधरीले जानकारी दिनुुभयो ।

     

    श्रीमञ्ज्याङ लामागाउँमा आएका पर्यटक एग्रो फर्मअन्तर्गत रहेको चियाबारीमा पनि रमाउने गरेको उहाँले जानकारी दिनुुभयो । करिब १४ रोपनी क्षेत्रफलमा सात वर्षयता चियाखेती सञ्चालन भइरहेको उहाँले जानकारी दिनुुभयो । लमजुङको बेँसीसहरबाट करिब दुुई घण्टामा सवारीसाधनमार्फत यस गाउँमा आउने सकिने बताउँदै उहाँले पछिल्ला समयमा पर्यटक आउने गरेको बताउनुुभयो ।

     

    गाउँ आसपासमा रहेका मौलाकोट, भ्यूटावर, देवीस्थान मन्दिर, स्याङगे छ्योलिङ बौद्ध गुम्बा, आइलभ मन्जाङ, लवम छोर्तेन, पेबोङ्ग छोतेर््न, रि छोर्तेन, फुर्ब सन्दुप ढोनाक छयोलिङ गुम्बा, भ्याङ्गसुक छोर्तेन आदिले गाउँको धार्मिक एवं सांस्कृतिक महत्वलाई थप उजागर गरेको वडाध्यक्ष गुुरुङको भनाइ छ । 

     

    गाउँ पर्यटनको विकासका माध्यमबाट पर्यटकको आगमन बढाउँदै आर्थिक समृद्धि हाँसिल गर्ने दीर्घकालीन लक्ष्य राखिएको उहाँले बताउनुभयो । रासस

     
     


    तेस्रो आँखा