दाङ, जेठ २७ । संघीय सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि दाङ निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत सडक, पुल तथा शहरी पूर्वाधार विकासका १४ वटा आयोजनाका लागि ७० करोड २५ लाख रुपियाँ बजेट विनियोजन गरेको छ।
दाङ क्षेत्र नं. ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कमल सुवेदीले उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार विनियोजित बजेट मुख्य रूपमा सडक स्तरोन्नति, पुल निर्माण तथा शहरी पूर्वाधार विकासमा केन्द्रित छ।
उहाँले तुलसीपुर उपमहानगरपालिका तथा दंगीशरण, बबई र शान्तिनगर गाउँपालिकाका विभिन्न क्षेत्रमा सडक मर्मत, स्तरोन्नति तथा सडक सुरक्षा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो। साथै, पुल निर्माण र पूर्वाधार विकासका योजनाले समग्र क्षेत्र नं. ३ को विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँका अनुसार शहरी सडक स्तरोन्नति, मर्मत–सुधार तथा सडक सुरक्षा कार्यक्रमअन्तर्गत तुलसीपुर उपमहानगरपालिका, दंगीशरण, बबई र शान्तिनगर गाउँपालिकामा सञ्चालन हुने योजनाका लागि प्रतियोजना एक करोड ५० लाखका दरले कुल १० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ।
त्यसैगरी, शान्तिनगर गाउँपालिकाको बस्ती विकास कार्यक्रमअन्तर्गत शान्तिनगर बजारको पूर्वाधार सुधारका लागि तीन करोड रुपियाँ छुट्याइएको छ। दंगीशरण गाउँपालिकाको खड्कपुर–पोटली झोलुङ्गे पुल निर्माणका लागि ५० लाख रुपियाँ, तुलसीपुरको मन्कापुर–कुइरेपानी झोलुङ्गे पुलका लागि २० लाख रुपियाँ तथा बबई गाउँपालिकाको चरकमटिया झोलुङ्गे पुल निर्माणका लागि १५ लाख रुपियाँ बजेट विनियोजन गरिएको सांसद सुवेदीले जानकारी दिनुभयो।
यस्तै, तुलसीपुर–१५ स्थित हापुर खोलामा मोटरेबल पुल निर्माणका लागि तीन करोड रुपियाँ तथा शान्तिनगरका बहुला खोला सडक पुल र चिराघाट खोला मोटरेबल पुल निर्माणका लागि तीन करोड रुपियाँ बजेट छुट्याइएको उहाँले बताउनुभयो।
मुख्य सडक आयोजनाअन्तर्गत सिटलपुर–अमेलिया–तुलसीपुर सडकका लागि ३० करोड रुपियाँ र घोराही–तुलसीपुर सडकका लागि २० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ। त्यसैगरी, तुलसीपुर–दोघरे–प्रतापकोट–सल्यान सडकका लागि तीन करोड रुपियाँ तथा तुइसोता–गिधनिया पुल निर्माणका लागि २० लाख रुपियाँ बजेट छुट्याइएको उहाँले जानकारी दिनुभयो।
सांसद सुवेदीले दाङ क्षेत्र नं. ३ को समग्र विकासलाई गति दिन सडक सञ्जाल विस्तार, सुरक्षित यातायात तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताउनुभयो।
उहाँका अनुसार शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग सम्बन्धित अन्य थुप्रै आयोजना पनि बजेटमा समेटिएका छन् र तिनका लागि आवश्यक बजेट सुनिश्चित गरिएको छ। हाल आफूले सडक, पुल तथा शहरी पूर्वाधारसँग सम्बन्धित योजनाबारे मात्र जानकारी गराएको उहाँले स्पष्ट पार्नुभयो।
“जनप्रतिनिधिका हैसियतले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि म सदैव प्रतिबद्ध छु,” उहाँले भन्नुभयो, “यी आयोजनाको प्रभावकारी कार्यान्वयनबाट स्थानीय नागरिकको आवागमन सहज हुनुका साथै आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने विश्वास लिएको छु।” गोरखापत्र अनलाइन
