• ट्रेण्डिङ्ग :
सार्वजनिक यातायातको भाडा घट्यो

सार्वजनिक यातायातको भाडा घट्यो


  • 1.7K
    SHARES
    • आषाढ १९, २०८३ शुक्रबार
    • ४ महिना अघि
    • 2.6K Views

    सार्वजनिक यातायातको भाडा घट्यो

    काठमाडौँ, असार १९ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरी  दुई प्रतिशत घटाएको छ । इन्धनको मूल्य घटेपछि विभागले सार्वजनिक यातायातको भाडादर समायोजन गरेको हो । 

    images

    बिहीबारदेखि लागु हुने गरी यात्रुवाहक सवारी, पहाड र तराईमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर दुई प्रतिशतले घटेको विभागले जनाएको छ । 

    विभागका अनुसार डिजेलको मूल्यमा प्रतिलिटर ४३ रुपियाँको गिरावट छ । यसअघि डिजेलको औसत बजार मूल्य प्रतिलिटर २३५‍.८३ रुपियाँ रहेकोमा घटेर हाल १९२.८३ रुपियाँ कायम भएको छ । करिब १८.२३ प्रतिशतले गिरावट हुँदा दुई प्रतिशत मात्रै भाडा समायोजन भएको छ । 

    वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा स्वचालित रूपमा भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ तर इन्धनको मूल्य १८ प्रतिशतसम्म घट्दा पनि विभागले सबै प्रकारका सवारीसाधनमा दुई प्रतिशत मात्र घटाउने निर्णय गरेको छ । विभागले २०८३ वैशाख १६ गते पाँच प्रतिशत भाडादर वृद्धि गरेको थियो । 

    वैशाखमा वैज्ञानिक स्वचालित मूल्य प्रणाली अनुसार ९.८ देखि १४.३ प्रतिशतसम्म भाडा बढ्नुपर्ने थियो तर तत्कालीन परिस्थितिलाई मध्यनजर गर्दै पाँच प्रतिशत मात्र भाडा वृद्धि गरिएको विभागले जनाएको छ । पहिले पूर्ण रूपमा बढ्नुपर्ने भाडा नबढेका कारण हाल  इन्धनको मूल्यमा भारी गिरावट आए पनि दुई प्रतिशत मात्र भाडा घटाइएको विभागले सूचनामा जनाएको छ ।  

    तर यातायात व्यवसायीले भने घटाइएको भाडादरमा पनि असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव टेकनाथ गौतमले भन्नुभयो, “स्वचालित मूल्य प्रणाली अनुसार हाल करिब एक प्रतिशत मात्र भाडादर समायोजन हुनुपर्नेमा सरकारले जबरजस्ती दुई प्रतिशत घटाएको छ । यो विभागले लागु गरेको वैज्ञानक मापदण्डविपरीत छ । विधिसम्मत छैन ।”   

    विभागका अनुसार भाडा समायोजन इन्धनको मात्र नभई अन्य मापदण्डका आधारमा पनि गरिन्छ । सवारीका पार्टपुर्जा, लुब्रिकेन्ट्स र श्रम मूल्यलगायतका १३ वटा सूचक समेटेर वैज्ञानिक आधारमा समायोजन हुन्छ । वैज्ञानिक भाडादर समायोजनमा ३५ प्रतिशत हिस्सा इन्धनको हुन्छ भने बाँकी ६५ प्रतिशत हिस्सा सवारीका १३ वटा पार्टपुर्जा, बजार महँगी र श्रम सूचकलाई आधार मानिन्छ ।

    इन्धनको मूल्य पाँच प्रतिशतसम्म एकै पटक बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली लागु गरिन्छ । वैज्ञानिक भाडादर समायोजन प्रणाली २०६५ सालदेखि लागु गरिएको हो । जसलाई स्वचालित मूल्य समायोजन प्रणाली पनि भनिन्छ ।   


    तेस्रो आँखा