• ट्रेण्डिङ्ग :
सुनसरी घटनाले दिएको सन्देश : अफवाह होइन, संवाद, संयमता र सद्भाव नै समाधान

सुनसरी घटनाले दिएको सन्देश : अफवाह होइन, संवाद, संयमता र सद्भाव नै समाधान


  • 3.2K
    SHARES
    • श्रावण १४, २०८३ बिहीबार
    • १ महिना अघि
    • 4.9K Views

    सुनसरी घटनाले दिएको सन्देश : अफवाह होइन, संवाद, संयमता र सद्भाव नै समाधान

    सुनसरीको दक्षिणी क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनावले केही दिन यता देशभर चासो र चिन्ता बढाएको छ। आइतबार राति सुरु भएको विवादले हिंसात्मक रूप लिएपछि एक जनाको ज्यान गुम्यो, दर्जनौं घाइते भए, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुग्यो र स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गर्नुपर्ने अवस्था सिर्जना भयो। बुधबारसम्म आइपुग्दा सुरक्षा निकायको सक्रियता, स्थानीय तह, प्रशासन तथा समुदायका अगुवाहरूको पहलका कारण अवस्था क्रमशः सामान्यतर्फ उन्मुख देखिएको छ। यद्यपि कर्फ्यू आदेश कायमै रहेकाले पूर्ण रूपमा सहज अवस्था भने अझै फर्किसकेको छैन।

    images

    घटनाको सुरुवात बारे ?
    हालसम्म सार्वजनिक भएका विवरणहरू हेर्दा घटनाको प्रारम्भिक कारणबारे विभिन्न पक्षका फरक–फरक दाबी छन्, प्रत्यक्षदर्शीहरूका अनुसार बोलबम यात्राको तयारीका क्रममा बजाइएको डीजेको आवाजलाई लिएर विवाद सुरु भएको थियो। हिन्दू समुदायका केही स्थानीयले धार्मिक कार्यक्रम माथि अवरोध गरिएकाले तनाव बढेको दाबी गरेका छन् भने मुस्लिम समुदायका केही स्थानीयले रातिको ठूलो आवाजका कारण विवाद सुरु भएको बताएका छन्। प्रहरीले भने सुरुआतमा दुवै पक्षलाई सम्झाउने प्रयास गरेको, त्यसपछि ढुंगामुढा बढेपछि लाठीचार्ज, अश्रुग्यास र हवाई फायर गरिएको तथा अन्तिम विकल्पका रूपमा गोली चलाइएको जनाएको छ। यी सबै दाबीहरू सार्वजनिक भइरहे पनि “पहिलो आक्रमण कसले गर्‍यो ?” भन्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन। त्यसैले अपुष्ट सूचना वा सामाजिक सञ्जालमा फैलिएका दाबीलाई तथ्यका रूपमा प्रस्तुत गर्नु उचित हुँदैन।

    छानबिनको प्रतिवेदन नै हुनेछ आधिकारिक आधार :
    घटनाको सत्यतथ्य पत्ता लगाउन गृहमन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। समितिले घटनास्थल पुगेर प्रमाण संकलन सुरु गरेको छ।समितिले घटनाको वास्तविक कारण, दुवै पक्षको भूमिका, प्रहरीको बल प्रयोग आवश्यक थियो वा थिएन भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउने अपेक्षा गरिएको छ। त्यसैले अहिले अनुमानभन्दा पनि आधिकारिक प्रतिवेदनको प्रतीक्षा गर्नु नै जिम्मेवार नागरिकको कर्तव्य हो।

    सत्तारुढ दल रास्वपा  र बालेनको भूमिका ;
    रास्वपा सभापति रवि लामिछानेले सुनसरी लगायतका जिल्लामा देखिएको साम्प्रदायिक तनाव अन्त्य गर्न सर्वदलीय बैठक तथा राष्ट्रपतिसँगको संवादमा सक्रियता बढाएका छन्। लामिछाने सर्वदलीय बैठकदेखि शीतलनिवास आफैं पुगिरहेका छन्, जुन एकदमै सकारात्मक कुरो हो । सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिलाई लिएर सञ्चारकर्मीहरूले उठाएका प्रश्नको जवाफमा स्पष्ट पार्दै ‘प्रधानमन्त्रीले आफ्नो काम गरिरहनुभएको छ, गृहमन्त्रीले आफ्नो काम गरिरहनुभएको छ । सरकारले गर्ने कार्यका लागि मन्त्रिपरिषद् बैठकहरू भइरहेकै छन् । यो त दलहरूले एउटा जिम्मेवार ढंगले साझा अवधारणा बनाउने थलो हो, उनले भनेका छन्।’ यता रास्वपा सरकारको नेतृत्व गरिरहेका बालेन्द्र शाह ‘बालेन’ले सबै संयम रहन आग्रह गर्दै मंगलबार राति फेसबुकमा सन्देश जारी त गरे तर त्यसअघि र पछि उनी लगभग गुमनाम छन् । प्रधानमन्त्रीले मंगलबार राति फेसबुकमा लेखेका थिए, ‘सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो, सरकारले यो सबै काम यथाशक्य चाँडो गर्नेछ । अर्थात् भित्रभित्रै काम र पहलहरु भएको भए पनि बाहिर देख्न सकिएको छैन। हिजोका दिनमा आफू काठमाडौंको मेयर हुँदा उनले तत्कालीन संघीय सत्तालाई सोधेका प्रश्न यतिबेला उनी आफैंतिर फर्केका छन् । यस्तो तनावपूर्ण अवस्थामा पुलिसलाई आदेश दिएर मात्रै दायित्व पूरा हुँदैन, प्रधानमन्त्रीले तुरुन्त आफू सक्रिय छु भन्ने आभास जनतालाई दिलाउनुपर्छ । सुनसरीमा हिन्दु र मुस्लिमका नाममा शुरु भएको तनावलाई सम्बोधन गर्ने गरी सत्तारुढ दल रास्वपा र सबै पार्टीको वक्तव्य पनि आएको छ त्यसले समाजलाई शान्त र संयम बनाउन सकारात्मक भूमिका खेल्नेछ भन्ने अपेक्षा गरौं ।

    मन्त्रिपरिषद्को बैठक : 
    प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले केही महत्त्वपूर्ण निर्णय गरेको बताइए पनि सुनसरीमा घटेको  घटनालाई लिएर सरकारले के निर्णय गर्‍यो भन्नेबारे केही खुलाइएको छैन। घटनाका पीडितलाई राहत तथा क्षतिपूर्तिको घोषणा गर्ने अपेक्षा गरिएपनि सरकारले उक्त विषयमा कुनै औपचारिक जानकारी सार्वजनिक हालसम्म गरेको छैन।

    प्रशासन, स्थानीय तह र समुदायको सकारात्मक पहल :
    तनाव कम गर्न प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएका छन् भने हेलिकप्टर र ड्रोनमार्फत पनि निगरानी गरिएको छ। हरिनगर र देवानगञ्ज गाउँपालिकासहित जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय तथा सर्वपक्षीय बैठक बसेर सामाजिक सद्भाव कायम राख्न सबैलाई आह्वान गरिएको छ। यस्तो संवादमुखी पहलले दीर्घकालीन शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। यसैबीच कोशी प्रदेश सरकारले घटनामा ज्यान गुमाउने परिवारलाई दुई लाख रुपैयाँ तथा घाइते र आगजनीबाट प्रभावित परिवारलाई जनही पचास हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

    असहिष्णुताले समस्या जन्माउँछ : 
    नेपाल बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो। यही विविधताले हाम्रो राष्ट्रिय पहिचानलाई अझ समृद्ध बनाएको छ। कुनै एक व्यक्तिको गल्तीलाई सम्पूर्ण धर्म वा समुदायसँग जोडेर हेर्नु न त न्यायोचित हुन्छ, न त समाजका लागि हितकर। हिंसा, घृणा र अफवाहले समस्या समाधान गर्दैनन्; बरु समाजलाई अझ विभाजित बनाउँछन्। हिन्दू, मुस्लिम, बौद्ध, क्रिश्चियन, किराँत वा अन्य कुनै पनि धर्मका अनुयायीहरू शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने नागरिक हुन्। त्यसैले न हिन्दू खराब छन्, न मुस्लिम, न बौद्ध, न क्रिश्चियन। खराब त्यो सोच हो, जसले अर्को धर्म वा समुदायलाई शत्रु देख्छ। गलत कार्य गर्ने व्यक्ति कुनै धर्मको प्रतिनिधि होइन; त्यो उसको व्यक्तिगत व्यवहार हो। 

    सामाजिक सञ्जालमा जिम्मेवारी अझ बढी : 
    यस्ता संवेदनशील घटनाका बेला सामाजिक सञ्जालमा अपुष्ट सूचना, पुराना भिडियो वा भड्काउने अभिव्यक्तिहरू तीव्र रूपमा फैलिने गरेका छन्। यस्ता सामग्रीले तनाव कम गर्नुको सट्टा झन् बढाउने जोखिम हुन्छ। त्यसैले कुनै पनि सूचना साझा गर्नु अघि स्रोतको विश्वसनीयता जाँच्नु, आधिकारिक जानकारीलाई मात्र विश्वास गर्नु र उत्तेजनात्मक अभिव्यक्तिबाट टाढा रहनु अत्यन्त आवश्यक छ।

    निष्कर्ष :
    सुनसरीको घटनाले फेरि एकपटक हामीलाई एउटा महत्त्वपूर्ण पाठ सिकाएको छ—धार्मिक वा सामुदायिक विवादको समाधान हिंसाबाट होइन, संवाद, सहिष्णुता र कानुनी प्रक्रियाबाट मात्र सम्भव हुन्छ।
    छानबिन समितिको निष्कर्ष नआउँदासम्म अनुमानका आधारमा दोषारोपण गर्नु भन्दा संयम अपनाउनु सबैको साझा दायित्व हो। हामी सबै नेपाली हौँ। हाम्रो साझा पहिचान शान्ति, सहिष्णुता र सामाजिक सद्भाव हो। आउनुहोस्, अफवाह होइन तथ्यमा विश्वास गरौँ। द्वेष होइन संवाद रोजौँ। विभाजन होइन एकता रोजौँ। एकतामै हाम्रो शक्ति छ, सद्भावमै राष्ट्रको समृद्धि छ।


    वीरेन्द्र पौडेल
    लेखकबाट थप