दाङ, साउन १७ गते । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीचको नयाँ सत्ता समीकरणअनुसार लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुन:गठनको तयारी सुरु भएको छ । दुवै दलबीच मन्त्रालय बाँडफाँड, मन्त्रीहरूको जिम्मेवारी र सरकारको साझा कार्ययोजनाबारे छलफल भइरहेको छ ।
भोली सोमबारसम्म मन्त्रिपरिषद् पुनर्गठन गरी सरकारलाई पूर्णता दिने तयारी गरिएको छ । यससँगै मुख्यमन्त्रीमा भने चेतनारायण आचार्यलाई नै निरन्तरता दिने सहमति भएको छ ।
प्रदेश सरकारको लागी केन्द्रमा एमाले र नेकपाबीच सत्ता सहकार्य गर्ने सहमति भएपछि लुम्बिनी प्रदेशमा पनि एमालेको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो ।
यसअघि नेपाली काँग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता आचार्य मुख्यमन्त्री बन्नुभएको थियो । काँग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि एमाले र नेकपाबीच नयाँ सत्ता समीकरणअनुसार सरकार गठनको प्रक्रिया अघि बढेको हो ।
नयाँ सत्ता समीकरण बनेपछि मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि एमालेका शीर्ष नेताबीच बिहीबार भएको छलफलले आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति गरेको हो ।
भक्तपुरको गुण्डुमा एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोख्रेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्वमुख्यमन्त्री लिला गिरीबीच भएको छलफलले आफूलाई नै निरन्तरता दिने सहमती भएको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।
“मलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भएको छ, मुख्यमन्त्री आचार्यले भन्नुभयो, अब सरकारलाई पूर्णता दिने विषयमा छलफल अघि बढेको छ, ।” उहाँका अनुसार आगामी सोमबारसम्म मन्त्रिपरिषद् पुनर्गठन गरी प्रदेश सरकारलाई पूर्णता दिने तयारी भइरहेको छ । लुम्बिनी प्रदेशमा हाल आठ वटा मन्त्रालय कायम रहेकाले सोही संरचनाअनुसार सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँड र मन्त्रीहरूको जिम्मेवारीका विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । “अहिले हामी आठ वटा मन्त्रालय कायम गरेका छौँ, उहाँले भन्नुभयो, यहीअनुसार सत्ता सहकार्य गर्ने दलहरूसँग छलफल भइरहेको छ । सम्भवत सोमबारसम्म सरकारलाई पूर्णता दिन्छौँ ।”
एमाले र नेकपाबीच मन्त्रालयको बाँडफाँड, मन्त्रीहरूको जिम्मेवारी तथा सरकारको साझा कार्ययोजनाका विषयमा छलफल भइरहेको मुख्यमन्त्री आचार्यले बताउनुभयो । मन्त्रालयको संख्या पुनर्संरचना भइसकेकाले कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा अहिले गृहकार्य भइरहेको उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री आचार्य २०८१ साउन ७ गते नेपाली काँग्रेसको समर्थनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
यस्तै नेकपाका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री जोखबहादुर महराले एमाले र नकपाबीच भएको सहमतिअनुसार सरकार गठनका लागि मन्त्रालय बाँडफाँड र साझा कार्ययोजनाका विषयमा छलफल भइरहेको बताउनुभयो । “अहिले पार्टीभित्र आन्तरिक छलफलमा छौँ, उहाँले भन्नुभयो, पार्टीभित्रको छलफलसँगै सत्ता साझेदार एमालेसँग पनि छलफल भइरहेको छ ।” महराका अनुसार दुवै दलबीच मन्त्रालय बाँडफाँडमा सहमति भएपछि नेकपाले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाउने छ । उहाँले छलफल जारी रहेकाले आगामी सोमबारसम्म मन्त्रिपरिषद् पुनर्गठन भइसक्ने बताउनुभयो ।
८७ प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेश सभामा हाल ८३ जना सदस्य छन् । सरकार गठनका लागि न्यूतम ४४ सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा एमालेका २९, नेपाली काँग्रेसका २७, नेकपाका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, जनता समाजवादी पार्टी नेपालका तीन, जनमत पार्टीका तीन, जनता समाजवादी पार्टीका दुई, राष्ट्रिय जनमोर्चाका एक र एक जना स्वतन्त्र सांसद छन् । एमालेका २९ र नेकपाका १३ गरी सत्ता गठबन्धनसँग ४२ सांसदको समर्थन हुन्छ ।
बहुमतका लागि थप दुई सांसद आवश्यक पर्ने देखिन्छ । हाल सरकारमा सहभागी जनता समाजवादी पार्टीका दुई सांसदको समर्थन प्राप्त हुने भएकाले नयाँ सरकार गठनमा समस्या नहुने नेकपाका संसदीय दलका नेता महराले बताउनुभयो ।
