• ट्रेण्डिङ्ग :
नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री वाग्लेको आग्रह

नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री वाग्लेको आग्रह


  • 1.4K
    SHARES
    • श्रावण ३०, २०८३ शनिबार
    • १ महिना अघि
    • 2.2K Views

    नेपालमा ढुक्कसँग लगानी गर्न प्रवासी नेपालीलाई अर्थमन्त्री वाग्लेको आग्रह

    काठमाडौँ, साउन ३० । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ।

    images

    चीनको ग्वाङझाउ सहरमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत शुभकामना दिनुहुँदै अर्थमन्त्री वाग्लेले सो धारणा राख्नुभएको हो।

    सरकारले लगानीको अनुकूल वातावरण बनाउने, स्वदेशमै मर्यादित रोजगारी सिर्जना गर्ने, कृत्रिम बौद्धिकता (एआई) तथा सूचना प्रविधि क्षेत्रलाई प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन गरिरहेको उहाँले बताउनुभयो।

    “प्रवासी साथीहरू, अब स्वदेश फर्केर ढुक्कसँग लगानी गर्नुहोस्। पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन हुने क्षेत्रहरूमा लगानी बढाउनुहोस्,” भिडियो सन्देशमा अर्थमन्त्रीले भन्नुभयो।

    सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको दाबी गर्दै उहाँले चालु बजेटमार्फत २७ वटा ऐन-कानुन संशोधन गरी लगानीमैत्री वातावरण निर्माण गरिएको जानकारी दिनुभयो। आर्थिक राजकाजलाई नयाँ दिशा दिइएको उल्लेख गर्दै उहाँले कर प्रणालीमा समेत व्यापक सुधार गरिएको बताउनुभयो।

    “पहिलो वर्ष सुधारको सुरुआत गरेका छौँ, दोस्रो वर्ष अझ फराकिलो सुधार हुनेछ। तेस्रो र चौथो वर्षमा सुधारको नतिजा देखिनेछ भने चौथो र पाँचौँ वर्षमा त्यसको प्रतिफल जनताले पाउनेछन्,” अर्थमन्त्रीले स्पष्ट पार्नुभयो।

    यी लक्ष्य प्राप्तिका लागि आन्तरिक तथा गैरआवासीय नेपालीको पुँजी र ज्ञान अत्यन्तै महत्वपूर्ण रहेको उहाँको भनाइ थियो। सरकारले गैरआवासीय नेपालीको ज्ञान र पुँजी भित्र्याउने नीति अपनाएको जानकारी दिँदै उहाँले धितोपत्र बाँडफाँड तथा निष्कासन नियमावली संशोधन गरी नेपाल सरकार र एनआरएन इन्भेस्टमेन्ट फण्डबाट जारी हुने सेयरको हिस्सा ८५ प्रतिशत पुर्‍याइएको बताउनुभयो।

    यसैगरी सरकारले रुग्ण उद्योगहरूलाई पुनः सञ्चालन गर्ने नीति लिएको र ज्ञान तथा सीप भएका गैरआवासीय नेपालीले यसमा समेत सहभागिता जनाउन सक्ने अर्थमन्त्री वाग्लेले उल्लेख गर्नुभयो। 


    तेस्रो आँखा