• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट


  • 1.1K
    SHARES
    • भाद्र २, २०८३ मंगलबार
    • १ महिना अघि
    • 1.7K Views

    प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    काठमाडौँ, भदौ २ । प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेट गर्नुभएको छ । रक्षामन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो । 

    images

    उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत सहभागी हुनुहुन्थ्यो । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चार दिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आउनुभएको थियो । पाँच सदस्यीय भ्रमण दलमा उहाँकी धर्मपत्नी कोमल सेठ पनि हुनुहुन्छ । सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्नुभएको थियो ।

    राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरिएको हो । नेपाल र भारतबिच सन् १९५० देखि एक-अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने परम्परा छ । सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देल र सेठबिच द्विपक्षीय भेटवार्तासमेत भएको थियो । 

    त्यस अवसरमा उहाँहरूबिच आपसी हितका विषयका साथै नेपाल र भारतबिचको द्विपक्षीय सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो । साथै सेनाध्यक्ष सेठले नेपाली सेनालाई सैन्य तथा स्वास्थ्य उपकरण हस्तान्तरण गर्नुभएको थियो । सेनाध्यक्ष सेठ आज बिहान पशुपतिनाथ मन्दिरमा पुगी पूजाआजासमेत गर्नुभएको थियो ।

    मित्रराष्ट्रका उच्च पदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबिचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ । सेनाध्यक्ष सेठ बुधबार स्वदेश फर्कने कार्यतालिका छ । रासस 

     


    तेस्रो आँखा