नारायणगढ, भदौ ११ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले बगाएर बेपत्ता भएकामध्ये १३० जनाको शव चितवनमा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शव अहिले भरतपुरमा संकलन गर्ने काम भइरहेको छ।
त्रिशूली र नारायणी नदीका किनारमा ती शव फेला परेका हुन्। फिस्लिङदेखि मेघौलीको गोलाघाटसम्मको क्षेत्रमा शव भेटिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिनुभयो।
फेला परेका शवको व्यवस्थापन र पहिचानका लागि चितवनमा शव पहिचान कक्ष स्थापना गरिएको छ। भरतपुरमा रहेको औद्योगिक विकास प्रतिष्ठानको भवनमा उक्त कक्ष स्थापना गरिएको हो।
चितवनमा लगातार शव फेला पर्न थालेपछि पहिचानमा सहजता होस् भन्ने उद्देश्यले शव पहिचान कक्ष स्थापना गरिएको प्रहरी उपरीक्षक पौडेलले बताउनुभयो। शव संकलन भएपछि सनाखतको काम पनि सुरु गरिने उहाँले जानकारी दिनुभयो।
भरतपुर महानगरपालिका र जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा उक्त केन्द्र स्थापना गरिएको हो। केन्द्रमा २५० वटासम्म शव राख्न सकिने बताइएको छ। शव भेटिने क्रम अझै जारी रहेकाले पहिचानको कामलाई सहज बनाउन केन्द्र स्थापना गरिएको हो।
केन्द्रमा शवलाई नसड्ने गरी चिस्यान केन्द्र बनाएर राखिएको छ। केन्द्र निर्माणका लागि उद्योग संघ र उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेका छन्।
नदी किनारबाट शवलाई एम्बुलेन्समार्फत निःशुल्क ढुवानी गर्ने व्यवस्था मिलाइएको छ। चितवन आउने मृतकका परिवारका लागि निःशुल्क खाना र बस्ने व्यवस्था चितवन होटल संघले गरेको छ।
अहिलेसम्म अधिकांश शवको पहिचान हुन सकेको छैन। पहिचान भएका शव आफन्तलाई बुझाउने तयारी गरिएको छ। बेपत्ता आफन्तको खोजीमा रहेका परिवारजन शव पहिचानका लागि चितवन आउने क्रम पनि सुरु भएको छ।
