• ट्रेण्डिङ्ग :
सुरक्षित रूपमा चाडपर्व मनाउन र विपद्प्रति सचेत रहन मुख्यमन्त्री आचार्यको आग्रह

सुरक्षित रूपमा चाडपर्व मनाउन र विपद्प्रति सचेत रहन मुख्यमन्त्री आचार्यको आग्रह


  • 976
    SHARES
    • भाद्र १२, २०८३ शुक्रबार
    • ३ हप्ता अघि
    • 1.5K Views

    सुरक्षित रूपमा चाडपर्व मनाउन र विपद्प्रति सचेत रहन मुख्यमन्त्री आचार्यको आग्रह

    गुल्मी, भदौ १२ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चाडपर्व संस्कृति र परम्परा जोगाउने माध्यम मात्र नभई पर्यटन प्रवर्द्धन तथा स्थानीय अर्थतन्त्रको विकासका मुख्य आधारसमेत भएको बताउनुभएको छ।

    images

    जनैपूर्णिमाको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उहाँले सांस्कृतिक विविधता, धार्मिक तथा ऐतिहासिक सम्पदा र प्राकृतिक सौन्दर्यलाई समृद्धिको आधारसँग जोडेर पर्यटन तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको हो।

    मुख्यमन्त्री आचार्यले चाडपर्वका माध्यमबाट रोजगारीका अवसर सिर्जना गर्दै समृद्ध प्रदेश निर्माणको अभियानलाई गति दिन सकिने विश्वास व्यक्त गर्नुभयो।

    शुभकामना सन्देशमार्फत उहाँले हालै रसुवामा आएको बाढी तथा पहिरोका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। विपद्मा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ।

    साथै, सम्पर्कविहीन तथा प्रभावित नागरिकको खोजी, उद्धार र राहत कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन उहाँले आग्रह गर्नुभएको छ।

    अविरल वर्षा र विपद्को जोखिमलाई ध्यानमा राख्दै मुख्यमन्त्री आचार्यले चाडपर्वका बेला यात्रा गर्दा मौसम तथा सडकको अवस्था र सम्बन्धित निकायले जारी गरेका सूचना एवं पूर्वानुमानबारे जानकारी लिएर मात्र यात्रा गर्न सबैलाई अनुरोध गर्नुभएको छ।

    सुरक्षित र संयमित रूपमा पर्व मनाउँदै आफ्नो तथा परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिन उहाँले आग्रह गर्नुभएको छ।

    जनैपूर्णिमाले सबै नेपालीबिच आपसी प्रेम, सद्भाव, एकता र सहकार्यको भावनालाई अझ सुदृढ गर्दै समुन्नत, समृद्ध र आत्मनिर्भर लुम्बिनी प्रदेश निर्माणको अभियानमा थप ऊर्जा प्रदान गरोस् भन्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको छ।


    तेस्रो आँखा