काठमाडौं, भदौ २३ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवागढी जलविद्युत् आयोजनामा हेडवर्कस्का सम्पूर्ण संरचना, पावरहाउस बाहिर र अन्डरग्राउण्ड पावर हाउसभित्र भएका अधिकांश सामग्रीमा क्षति पुगेको बताउनुभएको छ ।
प्रधानमन्त्री शाहले लाङटाङ जलविद्युत् आयोजनामा बाढी आएकै दिन खोज कार्यका लागि रेकी गरिएको बताउनुभयो । भदौ १३ गते नेपाली सेना र भारतीय टोली यो आयोजनामा सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै करिब ६० मिटरभित्र पुगेको बताउनुहुँदै खोज कार्यलाई थप प्रभावकारी बनाइएको बताउनुभएको छ । सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहले ग्यास वेल्डिङको माध्यमबाट सुरुङमा प्वाल पारी भित्र प्रवेश गर्दा २ शव फेला पारेको बताउनुभयो ।
नेपाली सेनाको टोली भदौ १० गते चिलिमे जलविद्युत् आयोजना क्षेत्रमा पुगेको बताउनुभयो । दलदलका कारण सुरुङभित्र जान समस्या थियो। नेपाली सेनाले भदौ १३ गते भारतबाट आएको विशेषज्ञ टोलीसहित उक्त क्षेत्रको रेकी गरेको उहाँको भनाइ छ ।
माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना क्षेत्रमा पनि भदौ १० बाट खोज कार्य सुरु भएको उहाँले जानकारी दिनुभएको छ । चीनबाट आएको विशेषज्ञ टोलीले भदौ १३ मा रेकी गरेको उहाँको भनाइ छ । भदौ १४ गतेबाट नेपाली सेना र चिनियाँ विशेषज्ञको टोलीले खोज कार्य सुरु गरेको थियो । सुरुङको प्रवेशविन्दुबाट दलदल पन्छाएर २०० मिटरभित्रसम्म प्रवेश गर्दा ताल देखिएको उहााले लेख्नुभएको छ ।
यो आयोजना क्षेत्रमा पनि हामीले बाढी गएको पहिलो दिनदेखि खोज कार्य सुरु गरे पनि सुरुङको मुख पत्ता लगाउन ठुलो समस्या भएको उहाँको भनाइ छ । नेपाल विद्युत् प्राधिकरण र नागढुंगा सुरुङ आयोजनाका विशेषज्ञसहितको टोलीले भदौ १२ गते रेकी गरी भदौ १३ गतेदेखि काम सुरु गरेको थियो।
सुरुङको मुख खोल्नका लागि काठमाडौँ तराई मधेश द्रुतमार्गको आयोजनाबाट विस्फोटक पदार्थ ल्याइएको थियो।
त्रिशूली ३ ‘बी’ आयोजना
त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनामा भदौ १० गतेबाटै खोज कार्यको प्रयास भएको थियो। उक्त आयोजनामा भदौ १३ गते चिनियाँ टोलीले रेकी गरेको थियो । दलदलका कारण खोजका उपकरणहरु लग्न नसकिएको उहाँले बताउनुभएको छ । आयोजनाका कर्मचारी र नेपाली सेनाको टोलीले खोज कार्य जारी राखेको छ। उक्त टोली सुरुङको प्रवेश विन्दुबाट दलदल पन्छाउँदै अडिट सुरुङको १।७ किलोमिटर भित्र प्रवेश गरेको थियो।
खोज कार्यका लागि थप उपकरण लग्ने क्रम जारी छ। आयोजनाको ६ वटा आवासीय र १ कार्यालय भवन बाढीका कारण पुरिएका छन्। ती संरचना पत्ता लगाउन १५ मिटर गहिराइसम्म उत्खनन भइसकेको उहाँले लेख्नुभएको छ।
बाढीका कारण प्रभावित विद्युत् आयोजना क्षेत्रबाट धेरै मानिसहरु सम्पर्कविहीन हुनुभएको उहाँले बताउनुभएको छ । हामीले यस क्षेत्रमा तदारुकताका साथ खोज तथा उद्धारको प्रयास जारी राखेका छौं। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त टोली जोखिमपूर्ण स्थितिमा पनि निरन्तर खटिरहनुभएको उहाँको भनाइ छ। मित्र राष्ट्रहरुबाट समेत विशेषज्ञ टोली आइरहनुभएको उहाँले बताउनुभयो ।
