• ट्रेण्डिङ्ग :
विद्यार्थीलाई भविष्यका चुनौती र अवसरका लागि तयार गर्नुपर्छः राष्ट्रपति पौडेल

विद्यार्थीलाई भविष्यका चुनौती र अवसरका लागि तयार गर्नुपर्छः राष्ट्रपति पौडेल


  • 1.9K
    SHARES
    • आश्विन २४, २०८३ शनिबार
    • ३ हप्ता अघि
    • 3.0K Views

    विद्यार्थीलाई भविष्यका चुनौती र अवसरका लागि तयार गर्नुपर्छः राष्ट्रपति पौडेल

    काठमाडौँ, असोज २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको शिक्षाप्रणालीले विद्यार्थीलाई वर्तमानका लागि मात्र नभई भविष्यका चुनौती र अवसरको सामना गर्नसमेत सक्षम बनाउनुपर्ने बताउनुभएको छ।

    images

    पशुपति मित्र माध्यमिक विद्यालयको ८०औँ वर्ष प्रवेश तथा हीरक महोत्सव–२०८३ को अवसरमा शनिबार आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बदलिँदो विश्व परिवेशअनुसार शिक्षाको स्वरूप र उद्देश्य पनि परिवर्तन हुनुपर्ने धारणा व्यक्त गर्नुभएको हो।

    “आधुनिक विश्व तीव्र परिवर्तनको चरणबाट गुज्रिरहेको छ। विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता र सञ्चारका क्षेत्रमा भइरहेको तीव्र विकासले शिक्षाको स्वरूप र आवश्यकता दुवै परिवर्तन गरिरहेको छ। यस्तो अवस्थामा हाम्रो शिक्षाप्रणालीले विद्यार्थीलाई वर्तमानका लागि मात्र होइन, भविष्यका चुनौती र अवसरका लागि पनि तयार गर्नुपर्छ”, उहाँले भन्नुभयो।

    राष्ट्रपति पौडेलले परिवर्तनसँगै आधारभूत मानवीय मूल्यलाई अझ सुदृढ बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो।

    “प्रविधि जति शक्तिशाली हुँदै जान्छ, मानवीय विवेक, जिम्मेवारी र संवेदनशीलताको आवश्यकता पनि त्यति नै बढ्दै जान्छ। त्यसैले आधुनिक ज्ञान र सीपसँगै मानवता, सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रप्रतिको जिम्मेवारीलाई शिक्षाको केन्द्रमा राख्न आवश्यक छ”, उहाँले भन्नुभयो।

    विद्यालय ज्ञान, शिक्षा, चेतना र जागरण प्रदान गर्नुका साथै राष्ट्रको भविष्य निर्माण गर्ने आधारभूत संस्था भएको राष्ट्रपति पौडेलको भनाइ थियो। विद्यालयका कक्षाकोठामा पाठ्यपुस्तकको ज्ञान मात्र नभई अनुशासन, इमानदारी, परिश्रम, सहिष्णुता, सदाचार, देशप्रेम र सामाजिक उत्तरदायित्वजस्ता महत्त्वपूर्ण जीवनमूल्यसमेत सिकाइने उहाँले बताउनुभयो।

    आजका विद्यार्थी नै भविष्यका शिक्षक, चिकित्सक, इन्जिनियर, प्रशासक, उद्यमी, राजनीतिज्ञ, वैज्ञानिक तथा राष्ट्रका जिम्मेवार नागरिक बन्ने उल्लेख गर्दै उहाँले शिक्षाको उद्देश्य परीक्षामा राम्रो अङ्क प्राप्त गर्न सक्ने जनशक्ति उत्पादनमा मात्र सीमित हुन नहुने बताउनुभयो।

    “शिक्षा दिनु भनेको विद्यार्थीलाई परीक्षामा राम्रो अङ्क प्राप्त गर्न सक्ने बनाउनु मात्र होइन, समस्या समाधान गर्न, नयाँ सोच विकास गर्न, प्रविधिको सदुपयोग गर्न र समाज तथा राष्ट्रप्रति जिम्मेवार नागरिक बन्न सक्ने आधार तयार गर्नु पनि हो। यसका लागि सरकार, नीतिनिर्माता र शिक्षासँग सरोकार राख्ने सबैको सहकार्य आवश्यक छ”, राष्ट्रपति पौडेलले भन्नुभयो।

     


    तेस्रो आँखा