काठमाडौं, २७ चैत्र । सरकारले राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेपछि सर्वत्र आलोचना हुन थालेको छ। अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर महाप्रसाद अधिकारीबीचको टकराबका कारण नेपालको अर्थतन्त्र नै धरापमा परेको भन्दै चौतर्फी आलोचना हुन थालेको हो।
श्रीलंकाको अर्थतन्त्रको बाटोमा नेपाल पनि गएको विज्ञहरुको भनाइ छ। उनीहरुले अर्थतन्त्र डगमगाइरहेका बेला राष्ट्र बैंक र अर्थमन्त्रालयको समन्वयकारी भूमिका हुनु पर्नेमा प्रतिशोधका कारण निर्णय गरिएको भन्दै आलोचना गरेका छन्।
सरकारमा रहेको पार्टी नेकपा माओवादीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्रमा संकट आएका बेला राष्ट्र बैंक नै नेतृत्व विहीन हुनु अस्वभाविक भएको बताएका छन्। उनले सरकारले यस्तो निर्णय गर्नु पूर्व सोचेको होला भन्दै निर्णय गलत भएको बताएका हुन्। ‘यस्तो बेला गभर्नर हटाउने विषय संवेदनशील नै हो, यसमा सरकारले गम्भीरतापूर्वक सोचेकै होला । यद्यपि यो निर्णय त्यति समय सान्दर्भिक देखिएको छैन’ पुनले भनेका छन्।
अहिले विश्व अर्थतन्त्र नै धर्मराएको र नेपालको अर्थतन्त्र पनि संकटउन्मुख रहेको विषय सरकारले स्विकार्न सक्नुपर्ने पनि पुनले बताए । ‘अर्थतन्त्रमा देखिएको समस्या विश्वव्यापी समस्याकै अंगका रूपमा लिनुपर्छ । समस्यालाई स्वीकार गरेर अघि बढ्न लाज मान्नु हुँदैन,’ पुनले भने, ‘प्रतिपक्षले पनि सरकारलाई आलोचना गर्ने, निसानामा पार्ने र असफल बनाउने यही मौका हो भन्ने ठान्न हुँदैन । अर्थतन्त्रको संकट राष्ट्रिय समस्या हो, कुनै दल वा गठबन्धनको मात्र होइन ।’
यस्तै, पूर्व गभर्नर चिरञ्जिवी नेपाल पनि सरकारले संकटको अवस्थामा राष्ट्र बैंक प्रति प्रतिशोक साध्न नहुने बताउँछन्। उनी राष्ट्र बैक प्रति सरकारको दृष्टिकोण नै राम्रो नभएको भन्दै आफूले पनि गभर्नर हुँदा तातो हावामा बसेको अनुभूति गरेको बताएका छन्। यस्ता हस्तक्षेपले राष्ट्र बैंकका अधिकारीहरूको आत्मबल कमजोर हुने र वित्तीय संस्थाप्रतिको जनविश्वास गुम्ने डर रहने भन्दै उनलेृ राजनीतिक दलले यो प्रवृत्ति हटाएर राष्ट्र बैंकलाई स्वायत्त रूपमा चल्न दिनुपर्ने बताएका छन्।
