एजेन्सी, ३ वैशाख । यक्रेनको राजधानी सहर किभ वरपर ९०० सर्वसाधारणको शव फेला परेका छन् । रुसी सेना किभबाट फर्किएको एक सातापछि किभ क्षेत्रका प्रहरी प्रमुखले सो संख्यामा सर्वसाधारणको शव फेला परेको दाबी गरेका हुन् ।
किभ क्षेत्रका प्रहरी प्रमुखका अनुसार हालसम्म सर्वसाधारणका शव फेला पारिएको र ती शवलाई फोरेन्सिक विज्ञलाई हस्तान्तरण गरिएको छ । किभ क्षेत्रका प्रहरी प्रमुख एन्ड्री नेबितोभले भनेका छन्, ‘बुचाबाट मात्रै ३५० भन्दा बढी शव संकलन गरिएको छ ।’ हत्या गरिएका सबै सर्वसाधारण रहेको नेबितोभले बताएका छन् ।
सर्वसाधारणका शव सडकमा अलपत्र, आधा जलाइएको अवस्था तथा सामूहिक रुपमा गाडिएको अवस्थामा फेला परेका हुन्।
बुचामा रुसी सैनिकले युद्ध अपराध गरेको आरोप युक्रेनले लगाएको छ। अन्तर्राष्ट्रिय समुदायले पनि बुचामा युद्ध अपराध भएको बताएका छन्। तर रुसले भने आरोप अस्वीकार गरेको छ।
रूसले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित गर्ने बताउँदै आएकाे छ ।
