• ट्रेण्डिङ्ग :
खोटाङमा मतदाता नामावली संकलनको तयारी थालियो 

खोटाङमा मतदाता नामावली संकलनको तयारी थालियो 


  • 8.3K
    SHARES
    • मंसिर १२, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 12.7K Views

    खोटाङमा मतदाता नामावली संकलनको तयारी थालियो 
     
    खोटाङ, १२ मंसिर । आगामी निर्वाचनलाई मध्यनजर गर्दै खोटाङमा फोटोसहितको मतदाता नामावली संकलनको तयारी थालिएको छ ।
     
    आउँदो चैतमा हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै पहिलो चरणमा १७ मंसिरदेखि २६ मंसिर र दोस्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म फोटोसहितको मतदाता नामावली संकलनको तयारी गरिएको हो । 

    फोटोसहितको मतदाता नामावली संकलनका लागि जिल्ला निर्वाचन कार्यालयले आइतबार दिक्तेलमा मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ को सन्दर्भमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

    images

    निर्वाचन आयोगले निर्धारण गरेको कार्यक्रम तालिका अनुसार नै जिल्लामा ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ भन्ने नारासहित मतदाता नामावली संकलनको तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयका नासु लोकेन्द्रकुमार राईले बताउनुभयाे ।  

    जिल्ला प्रशासन कार्यालय रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र इलाका प्रशासन कार्यालय रहेको खोटेहाङ गाउँपालिकामा भने त्यहीबाट नियमितरुपमा फोटोसहितको मतदाता नामावली संकलन भइरहेको अवस्थामा अन्य पालिकाको हकमा मतदाता नामावली संकलन कार्यतालिका बनाइएको हो । 

    १७ मंसिरदेखि २६ मंसिरसम्म केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका र जन्तेढुंगा गाउँपालिकाको केन्द्रमा पुगेर फोटो सहितको मतदाता नामावली संकलनको काम गरिने छ ।

    यस्तै, २९ मंसिरदेखि ९ पुससम्म ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा मतदाता नामावली संकलनको काम गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    फोटोसहितको मतदाता नामावली संकलनका लागि प्रत्येक पालिकामा २/२ जना कर्मचारी खटाइने छ । मतदाता नामावली संकलनका लागि १३ र १४ मंसिरमा कर्मचारी छनौट गरिने नासु राईले बताउनुभयाे । 

    मतदाता नामावली दर्ताका लागि १८ वर्ष पुगेका नागरिकले नागरिकताको सक्कल र प्रतिलिपि सहित तोकिएको स्थानमा पुग्नुपर्ने छ ।

    तोकिएको समय अवधिभित्र अन्य जिल्लाका नागरिकले पनि जिल्ला निर्वाचन कार्यालयमा पुगेर फोटो सहितको मतदाता नामावली दर्ता गर्न सक्ने जनाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ र प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालले मतदाता नामावली संकलनलाई सफल बनाउन दललाई आग्रह गरेका छन् । 

    स्थानीय तह निर्वाचन ऐनअनुसार २०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गरिसक्नुपर्ने हुन्छ ।

    स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठमा सकिँदै छ । यस अनुसार आगामी चैतअघि नै निर्वाचन गरिसक्नुपर्ने हुनाले जिल्लामा मतदाता नामावली संकलनको तयारी थालिएको हो ।

     

  • सम्बन्धित विषय:

  • # खोटाङ
  • # मतदाता

  • तेस्रो आँखा