काठमाडाैं,८ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा ओखलढुंगामा नेपाली कांग्रेस र नेकपा माओवादीले चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । केन्द्रमा सत्तारुढ गठबन्धनकाबीच चुनावी तालमेल गर्ने निर्णय भएपनि स्थानीय अवस्था र आवश्यक्ता अनुसार तालमेल गर्न सक्ने बाटो खुल्ला भएका कारण जिल्लामा कांग्रेस माओवादी समिकरण गरेका हुन् ।
नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई समेत सँगैलान तयार भएपनि सिट बाँडफाँडमा कुरा नमिल्दा उनीहरु स्थानीय चुनावी गठबन्धनमा देखिएका छैनन् । निकै लामो रस्साकस्सीकाबीच कांग्रेस माओवादीबीच तालमेलको सहमति जुटेको नेताहरुले बताएका छन् । अझै लिखु गाउपालिकाको नेतृत्वमा कांग्रेस माओवादी दुबैले अडान नछाडेपछि प्रदेश समितिलाई निर्णय गर्न पठाएका छन् । गठबन्धनका ५ मध्ये जिल्लामा जनमोर्चा बाहेकका ४ दल सकृय छन् । गठबन्धन भित्र विभिन्न चरणमा छलफल भएपनि अन्ततः माओवादी र कांग्रेसबीच चुनावी तालमेल गर्ने निर्णय भएको नेपालीे कांग्रेस सभापति तेजेन्द्र खनालले बताए ।

मंगलबार बसेको कांग्रेस–माओवादी ‘वान टु वान’ वार्तामा जिल्लाका ८ मध्ये १ स्थानीय तहमा प्रमुख र नगरपालिका सहित ३ स्थानीय तहमा उपप्रमुख सहित १४ वटा वडा लिएर चुनावमा कांग्रेससँग तालमेल गर्न माओवादी सहमत भएको छ । चिशंखुगढी गाउँपालिका प्रमुख, सिद्धिचरण नगरपालिका उप–प्रमुख तथा मोलुङ र चम्पादेवी गाउँपालिका उपाध्यक्ष माओवादीको भागमा परेको छ । माओवादीले प्रमुख पाएको चिशंखुगढीमा नेपाली कांग्रेसको उपप्रमुख र माओवादीले उपप्रमुख पाएका स्थानीय तहमा कांग्रेसले प्रमुख पदमा उमेद्वार उठाउने छ ।
जिल्लाको खिजीदेम्बा, सुनकोशी र मानेभञ्ज्याङ गाउँपालिकामा भने केही वडामात्रै लिएर माओवादीले कांग्रेसलाई सहयोग गर्ने नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक निशान्त शर्मा र कांग्रेस जिल्ला सभापति तेजेन्द्र खनालद्धारा हस्ताक्षरित संयुक्त सहमति पत्रमा उल्लेख छ । सुनकोशी गाउँपालिकामा २, मानेभञ्ज्याङ गाउँपालिकामा १ र खिजीदेम्बामा १ सहित जिल्लाका १४ वडामा माओवादीले गठबन्धनको तर्फबाट उम्मेदवारी दिने सहमति भएको छ । ७५ वडा मध्य ६१ वडामा नेपाली कांग्रेसले लिने लिने र गठबनधनमा सहभागि नेकपा एस र जसपा समेत सहमतिमा आए कांग्रेस माओवादी दुबैले बाडेका सिटबाट केही ठाउँहरु दिएर सँगै जाने निर्णय भएको सभापति तेजेन्द्र खनालले बताए ।
लिखु गाउँपालिकामा दुवै दलले प्रमुखमा दावी गरेपछि सहमति जुटेको छैन । उक्त पालिकाको भागबण्डा मिलाउन प्रदेशमा सिफारिस गरिएको छ । तालमेललाई थप मजबुद बनाउन कांग्रेस नेता बालकृष्ण दाहालको संयोजकत्वमा कांग्रेसका ३ जना र माओवादीका ३ जना सदस्य रहेको कार्यदल समेत गठन गरिएको छ । कार्यदलको सदस्यमा खड्ग योगी, हेमसागर पराजुली र शन्त तामाङ छन् । कांग्रेसबाट विनोद केसी, सन्तोषबाबु थापा र आश्राचन राई छन् । गठबन्धनका साझेदार दलहरुले अन्य दलसँग साझेदारी गर्न नपाउने समेत कांग्रेस र माओवादीको सहमति पत्रमा उल्लेख छ ।
उम्मेदवारको विषयमा ढुंगो लगाउन आज पार्टीको बैठक भैरहेको नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ । १४ वटा वडामा कुन–कुन वडा माओवादीलाई छाड्ने भन्ने र कुन कुन लिने भन्ने अझै निर्णय नभएको नेपाली कांग्रेसका एक नेताले बताए । उता नेकपा एकीकृत समाजवादी भने कांग्रेस माओवादीले सँगै लान नचाहेकाले आफ्नै ढंगले निर्णय गरेर जाने बताएको छ । केही वडा अध्यक्ष र नगरपालिकामा उप प्रमुख लिएर गठबन्धनलाई नटुटाउन खोजेको भएपनि कांग्रेस र माओवादीले नेकपा एसलाई पाखा लगाउन खोजेको जिल्ल अध्यक्ष हंशराज वाग्लेले बताए ।
उनले भने,‘नेकपा एकीकृत समामजवादीले ४ वटा स्थानीय तहमा प्रमुख ४३ वडामा वडाअध्यक्ष तयार गरिसकेको छ’, तर एमालेलाई हराउन बनाएको गठबन्धनमा हामीलाई मतलव नगर्ने हो भने हामी कुनै ठाँउमा पनि उम्मेदवारी नदिई बस्छौं,पार्टी परिवर्तन गर्दैनौं, गठबनधनका साथिहरुलाई पनि सहयोग गर्दैनौं ।’माओवादीको बराबर नेकपा एसको पनि हैसियत बनिकसेकाले माओवादीले नगरपालिको उप प्रमुख नेकपा एसलाई छाड्नु पर्ने र कांग्रेसले सबैलाई मिलाएर जानु पर्ने उनको भनाइ छ । जसपाले पनि २ वटा स्थानीय तहमा प्रमुखको दावी गरेपछि कुरा मिल्न नसकेको नेताहरुले बताएका छन् ।
