काठमाडाैं,१० वैशाख । नेकपा एकीकृत समाजवादी ओखलढुंगाले सात स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । शुक्रबार बसेको पार्टी जिल्ला कमिटीको बैठकले ८ स्थानीय तह रहेको जिल्लाका ७ स्थानमा प्रमुख तथा उपप्रमुख टुङ्गो लगाएको हो । पार्टी जिल्ला कमिटीको बैठकबाट जिल्लामा रहेको एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा तिलक लोहनी प्रमुख र निर्मला श्रेष्ठलाई उप प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यस्तै, चिशंखुगढी गाउँपालिकामा शारदा निरौला अध्यक्ष र कृष्ण भुजेललाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका केन्द्रीय सदस्य नेत्र भट्टराईले बताए । उनका अनुसार जिल्लाको मोलुङ गाउँपालिकामा दीपक फुल अध्यक्ष, चम्पादेवीमा कमल खडका अध्यक्ष तथा शोभा बोगटी उपाध्यक्ष सुनकोसीमा यमचन्द्र कटुवाल अध्यक्ष र खिजीदेम्बामा गेल्बु शेर्पा र मानेभञ्ज्याङमा पर्वलाल तामाङलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको छ ।
७५ वटा वडा रहेको ओखलढुंगामा समाजवादीले ५५ वटा वडामा वडा अध्यक्षको उम्मेदवार दिने तयारी गरेको उनले बताए । ५५ वटा वडामा ४० स्थानमा टुङ्गो लागि सकेको र अन्यमा पनि भोलि सम्ममा उम्मेदवारको टुङ्गो लाग्ने उनको भनाइ छ । लिखु गाउँपालिकामा भने नेकपा एसले उमेदवारको टुंगो लगाएको छैन ।
