ओखलढुंगा,१० वैशाख । आसन्न स्थानीय तहको निर्वाचनमा मानेभञ्ज्याङ्ग गाउँपालिकाको अध्यक्षको लागि आफ्नो दर्वीलाे दावेदारी रहेको नेपाल तरुण दलका निवर्तमान अध्यक्ष तथा युवा नेता ज्ञानेन्द्र रुम्दालीले बताएका छन् । गाउँपालिकाको समग्र विकास, समृद्दी र भुगोलका नागरिकलाई स्वरोजगारसँग जोडेर लाने योजनाका साथ उम्मेदवारी दिने तयारी गरेको बताउँदै रुम्दालीले पार्टीले कुनै हालतमा टिकट दिनु पर्ने अडान राखेका छन् । यस पटक अध्यक्षबाट व्याक नहुने उनकाे भनाइ छ ।

पटक-पटक पार्टीले अन्याय गरेको भन्दै न्यायको सिद्धान्त र भुगोलका नागरिकको माग बमोजिम कांग्रेसले यसपटक गलत निर्णय नगर्ने विश्वास रहेको उनले बताए । विद्रोही स्वभावका रुम्दालीले गत ०६४ र ०७४ को निर्वाचनमा नेताहरूले निर्वाचन क्षेत्र नम्बर १ बाट टिकट लिएर क्षेत्र नम्बर २ मा गएपछि उनी स्वतन्त्र उठेका थिए ।
यसै कारण उनलाइ गत निर्वाचनमा विद्रोही उम्मेदवारी दिएर पार्टीका नेतालाई चुनाव हराएको आरोप लाग्ने गरेको छ । पार्टी भित्र पद्धतिको विकास गराउन र मनोमालिन्यरूपमा गरिने निर्णयलाई सच्याउनका लागि आफूले विद्राेह नै गर्नु परेको रुम्दालीले बताए । नेतृत्वले गरेको गलत निर्णयका विरुद्धमा खवरदारी गर्न विद्रोह गर्नु परेको उनको भनाइ छ ।
यसपटक पनि पार्टी नेतृत्वले कसैको वहकाउमा लागेर गलत निर्णय गरे टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै उनले पार्टीभित्र सबैको सम्मान र सबैको अपनत्व हुनेगरी निर्णय गर्नेमा विश्वास गरेको बताए । गाउँपालिकाका अधिकांश नागरिकहरू रुम्दालीको पक्षमा छन् । नेपाली कांग्रेसले बहुमत सहित जितेको उक्त गाउपालिकामा सबै वडा अध्यक्षहरु रुम्दालीलाई टिकट दिएमात्र चुनाव लड्ने नत्र कुनैपनि निर्वाचनमा भाग नलिने बताउँदै आएका छन् ।
वर्तमान गाउपालिका उपाध्यक्ष सविता राई पनि टिकटको दौडमा छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप सुनुवार सवितालाई टिकट दिलाउन लागेका छन् भने केन्द्रीय सदस्य रामहरी खतिवडा सहित अन्य नेताहरु रुम्दालीको पक्षमा छन् । मनोनयन दर्ता गर्ने वैशाख ११ र १२ गते आइसकेकाले ११ गते विहान सम्म पार्टीले कस्लाई टिकट दिने भन्ने विषयको टुंगो लगाउनु पर्ने बाध्यता छ ।
